• २० असोज २०८१, आइतबार

अलैँचीका बिरुवाको माग बढ्दै

blog

कोकिला ढकाल

इलाम, असार २२ गते । अलैँचीका बिरुवा उत्पादन गरिरहेको अलैँची विकास केन्द्र इलामले यो मौसममा करिब एक लाख बिरुवा बिक्री गरेको छ । अलैँचीको बिरुवा रोप्ने यो मुख्य मौसम रहेको र बढी बिरुवा पश्चिमी जिल्लामा गइरहेको केन्द्रका बागवानी विकास अधिकृत अनुपा सुवेदीले बताउनुभयो । 

केन्द्रले रामसाही, गोलसाही, भर्लाङ र जिर्मले जातका अलैँचीका बिरुवा उत्पादन गरी बिक्री गरेको सुवेदीले जानकारी दिनुभयो । यस पटक केन्द्रले उत्पादन गरेका बिरुवा दोलखा, रामेछाप, गुल्मीलगायतका जिल्लामा पठाइएको छ । यस्तै ताप्लेजुङ, पाँचथर र इलाममै पनि बिक्री भएको छ । “केन्द्रको लक्ष्य अनुसार यस वर्ष एक लाख बिरुवा उत्पादन गरेका थियौँ । सबै बिक्री भएर अब जिर्मले जातका मात्र केही बिरुवा बाँकी छन्,” सुवेदीले भन्नुभयो, “अझै किसानबाट बिरुवाको माग भने आइरहेको छ ।” केन्द्रले यो वर्ष प्रतिगोटा पाँच रुपियाँको दले बिरुवा बिक्री गरेको छ । 

यो वर्ष बगानमै अलैँचीको पात रातो हुने, डाँठ कुहिने र बगान नै सुक्ने समस्याले किसान भने निराश भएका छन् । भर्खरै उत्पादन सुरु भएका बगानमा यस्तो रोग देखा परेपछि पुनः लगाउन थालिएको अलैँचीलाई कसरी बचाउने भन्ने समस्या भएको किसान बताउँछन् । माईजोगमाईका सोयाङ, प्याङ, सन्दकपुरका माईमझुवा, माबुलगायतका गाउँमा लगाइएको अलैँची बगान रोगका कारण नष्ट भएका छन् ।

“अहिले अलैँचीमा छिर्के, फुर्केको भन्दा ठुलो समस्या बगान रातो हुने र डढ्ने समस्या देखिएको छ । यो के कारण हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । रिजल्ट आएको छैन,” बागवानी विकास अधिकृत सुवेदीले भन्नुभयो, “त्यसको रिजल्ट आउनसाथ हामी किसानलाई उपचारको उपाय दिने छौँ ।”                                 

केही वर्षयता विभिन्न रोगका कारण धेरै अलैँची बगान सखाप भएपछि केन्द्रले टिस्यु कल्चर प्रविधिबाट पनि बिरुवा उत्पादनको परीक्षण गरिरहेको छ । “टिस्यु कल्चरबाट उत्पादन भएका बिरुवामा रोग लाग्दैन, यो प्रविधिको परीक्षण भइरहेको छ, आगामी वर्षदेखि यो प्रविधिका बिरुवा पनि रोप्न तयार हुन्छन्,” सुवेदीले भन्नुभयो, “अलैँचीका लागि माटोको अम्लीयपना साढे चारदेखि साढे छसम्म हुनुपर्नेमा त्यो घटेर साढे तीनभन्दा कम हुने कारण पनि अलैँचीमा असर पर्न सक्छ ।” 

केन्द्रका अनुसार देशको १७ हजार चार हेक्टरमा अलैँची खेती हुने गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा ११ हजार ६२१ मेट्रिक टन अलैँची उत्पादन भएको छ ।  

यता अलैँची बगान मासिएर उत्पादन शून्य भएपछि पुनः अलैँची उखेलेर किसानले चिया, किवीजस्ता नगदे बाली लगाउन थालेका छन् । दुई वर्ष राम्रो उत्पादन दिएको अलैँची तेस्रो वर्ष बगानै रातो भएर सखाप भएपछि यो वर्ष चिया लगाएको सोयाङका किसान तोया चापागाईंले बताउनुभयो ।