• १३ मंसिर २०८१, बिहिबार

वन डिभिजनको आफ्नै नर्सरी

blog

कावासोती समाचारदाता

कावासोती (नवलपुर), असार १८ गते । पूर्वी नवलपरासी डिभिजन वन कार्यालयले निःशुल्क रूपमा बिरुवा वितरण गर्न आफ्नै नर्सरी तयार पारेको छ। यस वर्ष वन कार्यालयले आफ्नै नर्सरीमा ३२ प्रजातिका बिरुवा तयार गरेको छ। 

बहुवर्षीय रुखका बिरुवा, बहुवर्षीय डालेघाँसका बिरुवा, बहुवर्षीय फूलका बिरुवा, सुगन्धित, जडीबुटीजन्य बिरुवाका साथै भूक्षय, कटान तथा पहिरो रोकथामा उपयोगी बाँस तथा अम्रिसो जातका बिरुवा उत्पादन गरिएको वन कार्यालयले जनाएको छ। कावासोती र गैँडाकोट गरी दुई वटा नर्सरीमा उत्पादित विभिन्न प्रजातिका बिरुवाको वितरण थालेपछि बिरुवा लिन आउनेहरू बढेका छन्। डिभिजन वन कार्यालय परिसरमा रहेको डिभिजन नर्सरी र गैँडाकोट सबडिभिजन कार्यालयको सबडिभिजन नर्सरीमा एक लाख १८ हजार बिरुवा हुर्काइएको छ। 

नर्सरीमा हुर्काइएका बिरुवा रोपणका निमित्त निःशुल्क वितरण थालिएको वन अधिकृत एवं सूचना अधिकारी हरिप्रसाद गौतमले बताउनुभयो। दुई वटै नर्सरीबाट एक लाख १७ हजार बिरुवा उत्पादनको लक्ष्य रहे पनि लक्ष्यभन्दा धेरै बिरुवा तयार भएको उहाँले बताउनुभयो।

“विशेष गरी निजी जमिनमा बिरुवा माग गर्ने उपभोक्ताहरूले सौन्दर्यजन्य धुपी, कल्की फूल, गोलमोहर, वीरेन्द्र फूल, कपुर जस्ता बिरुवा लैजाने गरेका छन्,” सूचना अधिकारी गौतमले भन्नुभयो, “सामुदायिक वन, संस्थागत र सार्वजनिक स्थलमा वृक्षारोपण गर्नेहरूबाट भने सबै प्रजातिका मिश्रित बिरुवाको माग हुने गरेको छ।”

लामो समयको खडेरीपश्चात् भर्खर मनसुन सक्रिय भएकाले अब बिरुवा रोप्दा जोगाउन सजिलो हुने भएपछि बिरुवा लिन आउनेहरू बढेका हुन्। निजी, सार्वजनिक तथा संस्थागत सबैलाई निःशुल्क रूपमा बिरुवा उपलब्ध गराइएको छ। यसले वातावरणीय सन्तुलन, वातावरणीय सौन्दर्यीकरण, भूक्षय तथा कटान रोकथाम, पशुको आहारा घाँस परिपूर्तिमा टेवा पुग्ने अपेक्षा गरिएको छ। पहिलो पटक जिल्लाभित्रै नर्सरीमा बिरुवा उत्पादन भएपछि अन्य जिल्लाबाट पनि खरिद गर्न आउनेहरू बढेका छन्। 

“खेर गएको जमिन हराभरा बनाउने, किसानलाई चाहिने डाले घाँसको आपूर्ति गर्ने, जडीबुटी खेती विस्तारमा सघाउने मुख्य योजना रहेको हो,” कृषि तथा पशुपन्छी विकास सहकारीकी व्यवस्थापक पुनम परियारले बताउनुभयो।