• २० असोज २०८१, आइतबार

भूमाफियाको चलखेल, नक्कली सिफारिस र रसिद फेला

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, असार १८ गते । राष्ट्रिय भूमि आयोग र मातहतका निकायले भूमिहीन दलित र अव्यवस्थित बसोबास गर्नेहरूलाई जग्गा वितरण गर्न जग्गा नापजाँच गरिरहेका बेला भूमाफियाको चलखेल बढेको छ।  

जग्गाधनीले आफ्नो नामको जग्गा भोगचलन गर्न सकेका छैनन् भने चार दशकदेखि भोगचलन गर्दै आएका व्यक्तिले पुर्जा प्राप्त गर्न सकेका छैनन। वडामा मालपोत तिरेर सिफारिससहित मालपोत कार्यालय जाँदा त्यस्ता जग्गाहरू बिक्री वितरण गर्न सकिने भएकोले भूमाफियाहरू नक्कली कागज बनाउन सक्रिय भएका हुन्। मोरङको पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका जग्गामा दोहोरो स्वामित्व रहेको छ। २०७४ सालमा जनप्रतिनिधि आउनुअघि जग्गाधनी र जोतभोग गर्नेबिच आन्तरिक सहमति भयो। धनीपुर्जावाला र भोगचलन गर्नेहरू कोही आधाआधामा मिले। कोही ६०/४० प्रतिशतमा मिले भने कोही ७०/३० प्रतिशत लेनदेन गरी मिले तर जनप्रतिनिधि आएपछि नगर र गाउँपालिकाले दोहोरो स्वामित्वको जग्गाको मालपोत नलिने, चार किल्ला सिफारिस नगर्ने र बिक्रीको सिफारिस नगर्ने निर्णय ग¥यो। त्यसपछि ती जग्गाहरूको किनबेच ठप्प छ। 

यसैबिच पथरीशनिश्चरे–४ का वडाध्यक्ष लोकनाथ न्यौपानेको हस्ताक्षरसहितको सिफारिस, वडाको लेटरप्याड, छाप र पालिकामा मालपोत तिरेको नक्कली रसिदसमेत फेला परेको छ। जग्गामा दोहोरो स्वामित्व भएका वडामा यो समस्या झाँगिँदो अवस्थामा रहेको छ। वडाध्यक्ष न्यौपानेले भन्नुभयो, “मैले थाहा पाउनेबित्तिकै इलाका प्रहरी कार्यालयमा उजुरी दिएको थिएँ। आफैँ अनुसन्धान गर्ने विषय रहेन, प्रहरीले छानबिन गरिदिएन।” माफियाको समूहले २०७९ पुस २४ गते वडाको किर्ते लेटरप्याड बनाएर चार किल्ला प्रमाणित गरी सिफारिस लिएको छ। सिफारिस अनुसार साविक बयरवन–९ (औ) को हाल पथरीशनिश्चरे–४ मा पर्ने हरिभक्त खड्काको नाममा रहेको कित्ता नं.४५ को एक बिघा १५ कट्ठा सात धुर (९१–१५–७०) जग्गाको पूर्व र पश्चिममा बाटो, उत्तर कि.नं. ४४ र दक्षिणमा ५२ रहेको भनि चार किल्ला सिफारिस बनाएको छ तर हरिभक्त खड्का वडा नं. ४ का बासिन्दा नभएको र आफूले नचिनेको वडाध्यक्ष न्यौपाने बताउनुहुन्छ। सिफारिससाथ फेला परेको नागरिकताको प्रतिलिपि अनुसार हरिभक्तको ठेगाना झापाको गौरादह रहेको छ भने उमेर ८८ वर्ष पुगेको छ । 

यता कानेपोखरी–६ मा समेत बयरवन–८ (ड) को कित्ता नं. ५० को १३ बिघा पाँच कट्ठा १७ धुर जमिनको मालपोतबापत पाँच लाख ६० हजार रुपियाँ कानेपोखरी गाउँपालिकामा भुक्तान गरेको नक्कली कागज फेला परेको छ। त्यति ठुलो रकम पालिकाको सञ्चित कोषमा जम्मा नभएको पाइएपछि पालिकाले वडा नम्बर ६ का कर्मचारीलाई स्पष्टीकरणसमेत सोधेको छ। रसिद नं. १५७५२ बाट २०७९ फागुन १५ गते वडा नं. ६ का कार्यालय सहयोगी दीपक ऋषिदेवले काटेको रसिद फेला परेपछि पालिकाले ऋषिदेवसँग स्पष्टीकरण सोधेको हो। वडा नं. ६ का वडाध्यक्ष खड्गबहादुर बस्नेतले भन्नुभयो, “हामी आफैँ र प्रहरीले पनि यो विषयमा छानबिन गरिरहेको छ। माफिया नभागोस् भनेर धेरै हल्ला नगरिएको हो। वडाले दोहारो स्वामित्वका कुनै पनि जमिनको सिफारिस गरेको छैन।”