रमेश पौडेल
पोखरा, असार १० गते । गए रातिबाट अवरुद्ध रहेको पोखरा वाग्लुङ सडकअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका काँडे नजिक पाउदुर खण्डमा बन्द भएको सडक १३ घण्टापछि आंशिक रूपमा खुलेको छ । सडक अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन अलपत्र भएका छन् भने हजारौँको सङ्ख्यामा रहेका यात्रुले दुख पाएका छन् ।
चार वर्षअगाडि भासिएको सो सडक निर्माण कम्पनीले काम थालनी गरेकोमा समयमै सम्पन्न नगर्दा सो अवस्थामा आएको हो । जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख कृष्णबहादुर चन्दले सडक अझैसम्म पूर्ण रूपमा सञ्चालन हुन नसकेको बताउनुभयो। उहाँले भन्नुभयो, यस्तो अवस्था आउँछ भनेर दुई महिनाबाटै निर्माण कम्पनीलाई भन्दै आएका हौँ , सुनुवाइ भएन ।
यस बारेमा कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले फिल्ड निरीक्षण गरी आवश्यक प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।