• १३ मंसिर २०८१, बिहिबार

कृषकलाई यान्त्रिक हलो

blog

पर्वत समाचारदाता  

पर्वत, असार ९ गते । जिल्लाको बिहादी गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरेको छ। यान्त्रिकीकरणमार्फत कृषकलाई व्यावसायिक र कृषि पेसातर्फ उन्मुख गराउन मिनी टिलर प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष प्रवीण गुरुङले बताउनुभयो। 

अध्यक्ष गुरुङका अनुसार ४५ जना कृषकलाई मिनी टिलर (हलो) वितरण गरिएको हो। आधुनिक प्रविधिसँगै खेतबारी जोत्न सजिलो होस् भनेर मागमा आधारित भएर कृषकलाई अनुदानमा हलो वितरण गरिएको गुरुङको भनाइ छ। गाउँमा खनजोतका लागि गोरुको अभाव र जनशक्तिसमेत नरहेकाले किसानको माग यान्त्रिक हलो भएकाले वितरण गरिएको उहाँले बताउनुभयो। डिजेल वा पेट्रोलबाट चल्ने तथा कम जनशक्ति भए पनि पुग्ने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको उहाँको भनाइ छ। 

एक हल गोरुले एक दिनभरिमा जोत्न सकिने जमिन यान्त्रिक हलोले दुई घण्टामा जोत्न सकिन्छ। हलो पाएसँगै किसानलाई खेत जोत्न सहज हुने र समयको बचत हुने बताएका छन्। गाउँपालिकाले मिनी टिलर हलो खरिदका लागि गाउँपालिकाबाट १० लाख रुपियाँ विनियोजन गरेको थियो। 

माग र आवश्यकताका आधारमा किसानलाई मिनिटेलर हलो वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख जीवनबहादुर शाहीले जानकारी दिनुभयो। उहाँले कृषिलाई यान्त्रिकीकरणमा जोडी उत्पादन लागत घटाउन यो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।