वन्यजन्तुविद्का रूपमा प्राध्यापक डा. मुकेशकुमार चालिसे एक विख्यात नाम हो । उनको साहित्यकार व्यक्तित्वले उनकै वन्यजन्तुविद् व्यक्तित्वलाई नजिक नजिकबाटै पछ्याइरहेको छनक पाइन्छ–उनका साहित्यिक सिर्जनामा घोत्लिँदा । चालिसे वन्यजन्तुसम्बन्धी अनुसन्धाताका रूपमा मात्र होइन, नेपाली साहित्यको श्रीवृद्धिका लागि पनि निरन्तर साधनामय छन् । कुनै बखत उनले विभिन्न साहित्यिक तथा समाचारमूलक पत्रपत्रिकाका सम्पादकका रूपमा पनि कार्य गरेका थिए । पुस्तकाकारमा वन्यजन्तुसम्बन्धी आठ वटा पुस्तकको प्रकाशनपछि प्रस्तुत आत्मकथन ‘मैले छिचोलेका कुइनेटा’ उनको नवौँ फड्को हो । जीवनसमरको एक उत्कृष्ट कथा हो ।
यो आत्मकथनमा निहित नैसर्गिक अन्तप्र्रवाहमा यस्ता कतिपय सङ्घर्ष, भोगाइ, वेदना अप्राप्य अभीत्सा र आकाङ्क्षा छन्, जुन एक प्रकारको प्रश्न, चिन्ता र सन्दर्भको अकाल मृत्युका रूपमा मुखरित भएका छन् । यसको अन्तर्वस्तु त्यस कालखण्डका मानिस र स्वतन्त्रतासँग प्रत्यक्ष सरोकार राख्ने भएकाले एक गम्भीर प्रश्न आफ्नो उठानमा नै व्याख्यानमा परिवर्तित हुन्छ । यस कृतिमा लेखकले आफ्नो परिपक्व र परिमार्जित दृष्टिकोणलाई यथार्थताको विम्बमा प्रस्तुत गरेका छन् । एक यस्तो महासमरको पे्ररणास्पद सङ्घर्षजनित सूक्ष्म दृष्टिकोण, जसमा त्यसबखतको परिदृश्य शब्दहरूसँगै प्रवाहमान भएर बग्छन् र पाठकको सोच र दृष्टिकोणलाई उद्वेलित गर्ने सामथ्र्यसहित एक किसिमको जीवन्त प्रभाव पनि छाड्छन् ।
पञ्चायतकालमा साम्यवादी राजनीतिमा सव्रिmय र भूमिगत जीवन बिताएका डा चालिसेले कतिपय घटनाव्रmमका माध्यमले यस कृतिमा तत्कालीन राजनीतिक, सामाजिक, शैक्षिक र अनुसन्धानका सन्दर्भमा आकाङ्क्षा र तत्तत् सन्दर्भमा आफ्नो सङ्घर्ष, सार्थकता र जवाफदेहिता जस्ता अनेक पक्षमा गहन विमर्श गरेका छन् । अनि उनको जीवनको भोगाइ, विसङ्गति, प्रहृत हुनुको वेदना, अनुसन्धानप्रतिको निष्ठा आरोह–अवरोह अनि उहापोहका सम्मिलित विम्बलाई उनको जीवनमा घटित घटनाव्रmमले नै पुरा थामिदिएका छन् । अर्कोतिर परम्परागत समाजमा उनी एक्लोपनको विम्बकारूपमा ठिङ्ग उभिए जस्तो पनि लाग्छ ।
उनी एक दृष्टि सम्पन्न चिन्तनशील सर्जक हुन् र लेखकको सूक्ष्म र बृहत्तर दृष्टि सम्पन्नता र सम्यकता उसको चेतनाबाट उत्पन्न हुन्छ, जन्मिन्छ । कुइनेटा छिचोल्दै छिचोल्दै हिँडेका डा. चालिसेमा निर्मित दृष्टिकोण प्रचलितभन्दा मौलिक भएकाले यसमा घटनैघटनाका रूपमा अटाएका विम्बले दृश्य–प्रभाव उत्पन्न गर्छन् । एकअर्कासँग शृङ्खलाबद्ध भई लस्करै मिलेका, जोडिएका अनि सिर्जित भएका । सन्दर्भहरूलाई दृश्य बनाउन उनको अवचेतन मनले ती घटनाव्रmमलाई परिष्कृत दृष्टिकोणबाट हेरेर प्रतिकृत गरेको छ र त्यही प्रतिकृति सहजै निर्मित हुँदै हुँदै, बग्दै बग्दै कुइनेटै कुइनेटामा छताछुल्ल भएर पोखिएको छ । यो उनको शिल्पकारिता हो, जसले कृतिमा रोचकता अझ थपिदिएको मात्र छैन, पाठकको संवेदनासमेतलाई उद्वेलित बनाइदिन्छ र पाठक गहिरो सोचमा हेलिन्छ । तर बग्दै बग्दै जाँदा कतै कतै बिचमै दुई ढुङ्गामा ठोक्किएको डुङ्गा भए झैँ अनुभव हुन्छ अर्थात् एउटा घटनाले विस्तार लिइरहँदा अनायासै अर्को घटना टुप्लुक्क प्रकट भइदिन्छ अनि त्यसबाट प्राप्त हुन सक्ने आनन्दबाट वञ्चित हुन्छ पाठक । यसका कारण कहीँ कहीँ अभिव्यक्त हुनहुन आँटेका घटना आधारित गहन चिन्तनमा पनि डुबुल्की लगाउन नपाउँदै अर्धविराम वा पूर्णविराम लागिदिन्छ । अनि कुनै मिष्ठान्न भोजन चपाउँदा चपाउँदै दाँतमा ढुङ्गा परे जस्तो, सडकमा निर्बाध गुड्दा गु्ड्दैै अनायासै कुनै अनपेक्षित मोड आएर मोडि नै परेको बाध्यता जस्तो । यो सम्पादकीय पक्ष हो तर यसमा पनि ध्यान पु¥याएको भए अझ राम्रो हुने थियो ।
डा. चालिसेको चिन्तनमा निहित राजनीतिक, सामाजिक पक्ष र वन्यजन्तु विज्ञानदेखि दर्शन र मनोविज्ञानसम्मका उत्कृष्ट आयामहरू ‘मैले छिचोलेका कुइनेटा’ मा मुखरित भएको पाइन्छ । उनीमा व्यतीत भइसकेको समयलाई आह्वान गरी वर्तमानमा अति सघन र गहन, सुरुचिपूर्ण र स्मरणीय कृतिको सिर्जना गर्न सक्ने कला छ । यहाँ उनले मानिस, समाज, राजनीति, शिक्षक, अनुसन्धाता, प्रकृति र पर्यावरणबीचको सम्बन्धलाई मानवीकरण गर्दै पर्गेलेका छन्– निरपेक्ष दृष्टिले । डा. चालिसेमा प्रकृति र मानवबिचको सहअस्तित्वप्रतिको प्रेम बौद्धिक र वैचारिक मात्र होइन, आत्मिक पनि छ । उनले यी पक्षलाई पाठकसामु स्पष्ट र निर्भीक भएर प्रस्तुत गरे पनि विषयको गति, वस्तुपरकता, मर्म र सूक्ष्मतामा कुनै हानि पुगेको छैन ।
यस कृतिमा सुन्दरतापूर्वक बुनोट गरिएको सम्प्रेषणीय र बोधगम्य भाषा, राजनीतिक, सामाजिक, शैक्षिक र वन्यजन्तुसम्बन्धी अनुसन्धानका पाटा र घटना सन्दर्भका रोचक शृङ्खला अनि प्रयुक्त लाक्षणिकता, प्रतीक र विम्बप्रति पाठक स्वतः आकर्षित हुनपुग्छ । समग्रमा यो पुस्तक रोचक, पठनीय र सङ्ग्रहणीय छ ।