साहित्यकार रामप्रसाद पन्तको हालै प्रकाशित निबन्धावली ४२ औँ कृति हो । यसमा विगत २० वर्षका अन्तरालमा लेखिएका २५ वटा निबन्धहरू सङ्कलित छन् । निबन्धावली शब्द नेपाली साहित्यमा उति प्रचलित शब्द नभए पनि निबन्ध र आवली शब्द मिली बनेको निबन्धावलीले पङ्क्ति मिलाएर राखिएको निबन्धको अर्थ राख्छ ।
निबन्ध गद्य विधाको एक स्वतन्त्र र उन्मुक्त लेखन अभिव्यक्ति हो । यसलाई जता तन्काए पनि हुन्छ, खुम्च्याए पनि हुन्छ, चौडाए पनि हुन्छ, अग्ल्याए पनि हुन्छ, समुद्र झैँ गहिराए पनि हुन्छ । निबन्धकार स्वतन्त्र विचरणमा स्वतन्त्र हुन्छ । तर यति हुँदाहुँदै पनि निबन्धले दिन खोजेको विचारमा भने निबन्धकार प्रस्ट, स्पष्ट र अडिग भने हुन सक्नुपर्छ । कसैले आत्मपरकतामा र कसैले वस्तुपरकतामा कुनै पनि विषयमा निबन्धन गर्छन् । निबन्धको विषय यस्तै हुनुपर्छ भन्ने हुँदैन । निबन्धकार रामप्रसाद पन्तका निबन्धहरूका विषय पनि यिनै परिधानमा आएका छन् । कताकतै स्वकीयता झल्काउने आत्मपरकता र कताकति वस्तुपरकतामा आधारित पनि । दुवैको कतै कतै सम्मिश्रण पनि छ ।
निबन्धावलीमा पन्तजीको शैली आकर्षक र भाषागत प्रस्तुति निकै मिठासपूर्ण छ । सोमा संस्कृत वाङ्मयका उद्धरण र नीतिश्लोकहरूको उपस्थितिले लेखनमा पूर्वीय साहित्यको राम्रै उद्घाटन पनि भएको छ । त्यसले निबन्ध पठनीय बनाउन औधी सहयोग गरेका छन् । कतिपय निबन्धका शीर्षकले नै एकखाले कुतूहलता जगाउँछन् र पाठकमा थप खुलदुली जाग्छ । सनातन धर्म, हाम्रो प्राचीन परम्परा र संस्कार, संस्कृत वाङ्गमयिक र वैदिक कर्महरूको महìवमाथि धेरैजसो निबन्धहरूमा निबन्धकार तार्किक र बौद्धिक लाग्छन् । नेपाल एक तपोभूमि हो र प्राचीन ऋषिमुनिहरूले हामीलाई धेरै असल कुरा छाडेर गएका छन् । तर हाम्रो वर्तमान पुस्ता भने श्रीखण्ड चिन्न नसकेर ती नकुँदिएका हिरा जस्ता मात्र छन् भन्ने निबन्धकारको विचार प्रवाहको शैली हेर्दा भने कताकति उनीभित्र देवकोटा पनि सलबलाएको हो कि लाग्छ । तपोभूमि नेपाल, नकुँदिएको हिरा, पूर्वीय दर्शन र नेपाली साहित्य, विश्व भाषामा संस्कृत भाषा र सनातन धर्म, सहज मार्गको खाजी, चेतना चिन्तन जस्ता निबन्धहरूमा पन्तजीले हाम्रो पूर्वीय दर्शन, वैदिक कर्म र हाम्रा पुर्खाहरूले जानेर वा नजानेर गर्दै आएका संस्कारगत मूल्य र मान्यतामाथि वकालत छ भने तिनका असल पक्षको पालन गर्नुपर्छ भन्ने वैचारिकताको मोह पनि उनमा देखिन्छ । खासगरेर अहिलेका तरुण वर्गमा पश्चिमेली संस्कारले जरो गाड्दै गएकाले उनलाई पुर्खाले छाडिगएका हाम्रा असल कर्महरू नै पो लोप हुने हो कि भन्ने चिन्ता पनि छ । उदाहरणार्थः जन्मोत्सव (बर्थ डे) मनाउँदा हाम्रो संस्कारले अष्ट चिरञ्जीवीको पूजा अर्चना गरेर बत्ती बाल्नू भन्छ, निभाउनू भन्दैन । तर पश्चिमेली संस्कारले बर्थ डे मनाउँदा क्यान्डिल निभाउनू भन्छ, कस्तो गलत चलन, निबन्धकारको तर्क छ । यस्तै कोरोनाकालीन कहरले गर्दा हाम्रै पूर्वीय संस्कारको अभिवादनको प्रणाली नमस्कारको महत्ता कतिको रहेछ भन्ने कुरा पुष्टि भएको छ । कोरोना कहरले उब्जाएको निबन्ध पनि यसमा छ तर सोमा उपशीर्षक चाहिँ नराखिएको भए हुन्थ्यो ।
साहित्यकारहरू बढी समवेदनशील हुन्छन् । सत्यका पछि लाग्छन् र सबैबाट त्यस्तै अपेक्षा पनि गर्छन् । पन्तजी साहित्यकार मात्र नभएर एक कुशल र सफल साहित्यिक पत्रकार पनि हुन् । उनमा त्यसको प्रवद्र्धन, संवद्र्धन र भविष्यको औधी चिन्ता छ, चासो छ र आफू त्यसैमा समर्पित छन् । त्यही व्रmममा घटेको सानु कुराले जन्माएको निबन्ध पनि छ यसमा । उसैगरी मानिसलाई सबैभन्दा बढी पीडा चाहिँ आफन्तले दिएको हुँदोरहेछ । ससानु कुरामा पनि आफन्तजनले दिने पीडाकै सन्दर्भसृजित केही निबन्धहरू एसमा छन् (पीडैपीडाको पिरामिड, म सिकार आदि)
सिंहदरबारभित्र डेढ घण्टा कैद, जीका कुरा र शिरमा नलेख... नलेख जस्ता निबन्धहरूले फरक चास्नीका बेग्लै कुतूहलता जन्माइदिन्छन् । शिरमा नलेख नलेखले अहिलेको साहित्यिक पत्रकारिता र साहित्यप्रतिको गलत मनोविज्ञानलाई उजागर गरेको छ । कतिपय निबन्धले नेपाली साहित्यको विकासलाई सरोकार राखेका छन् भने साहित्य सधैँ प्रतिपक्षमा हुन्छ भन्ने नयाँ विचारको रोपण पनि छ । आस्था जलेको त्यो दिनमा मूल पात्रको उल्लेखन भइदिएको भए उचित हुन्थ्यो भने तपसाधनाका चरु..मा आफ्नै सम्पादनको पत्रिकाबारेका सामग्री नराखिएको भए बढिया हुन्थ्यो । सङ्कलनको सबैभन्दा उल्लेख्य निबन्ध राष्ट्रिय जीवनमा बिपी कोइरालालाई लिन सकिन्छ ।
अन्त्यमा, रामप्रसाद पन्तजी बहुमुखी प्रतिभाका धनी यसै हुन्, उनलाई यस कृतिले निबन्धकार व्यक्तित्वमा उभिन मनग्गे साथ दिएको छ ।