• १२ साउन २०८१, शनिबार

चुरियामाई सुरुङ मार्ग : मर्मतपछि वारपार गर्न सकिने

blog

राममणि दाहाल

चुरियामाई (मकवानपुर), जेठ २४ गते । काठमाडौँलाई हेटौँडा हुँदै तराईसँग जोड्ने गरी चुरे पर्वतमा निर्माण गरिएको सुरुङ मार्ग मर्मतसम्भार गरेपछि वारपार गर्न सकिने अवस्थामा आएको छ।  दक्षिण एसियाकै पहिलो मानिएको यो सुरुङ मार्ग नियमित मर्मतसम्भारको अभावमा जीर्ण बनेको थियो। सुरुङ मार्गको करिब बिच भागमा सुरुङ धसिएर पुरिएपछि वारपार गर्न सकिने अवस्थामा थिएन। अहिले धसिएको भाग हटाएर सुरुङ वारपार गर्न सकिने भएको हो। 

बागमती प्रदेश सरकारले ऐतिहासिक महत्त्वको चुरियामाई सुरुङ मार्गको पुनर्निर्माण गरी पर्यटकीय गन्तव्य बनाउने गरी जीर्णोद्धारको काम गरिरहेको छ। चुरे पर्वत शृङ्खलामा कटान (बक्स कट) गरी कालोपत्रे सडक निर्माण गरेपछि यो सुरुङ प्रयोगविहीन बनेको थियो। अहिले यो सुरुङ मार्गको पुनर्निर्माण बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडामार्फत भइरहेको छ। निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले सुरुङ मार्गका दुवैतर्फको प्रवेश द्वार खुला रहे पनि सुरुङको बिच भाग धसिएपछि अवरुद्ध रहेकोमा अहिले छिचोल्ने काम पूरा भएको जानकारी दिनुभयो। 

“सुरुङको बिचमा करिब ४० मिटर धसिएको भाग हटाइएको छ। यो भाग मर्मतसम्भारपछि अब सुरुङबाट वारपार गर्न सकिने भएको छ,” उहाँले भन्नुभयो। उहाँका अनुसार भासिएको स्थानमा सुरुङ तोडेर ढुङ्गा, माटो निकाल्ने काम भइरहेको छ। साढे दुई मिटर चौडा र तीन मिटर उचाइ तथा पाँच सय मिटर लम्बाइको यो सुरुङ मार्गको आधाभन्दा बढी भाग हेटौँडा–पथलैया सडक विस्तारका क्रममा भत्काइएको थियो। सुरुङ मार्गको दक्षिण प्रवेश द्वार बाँकी रहे पनि उत्तरतर्फ सडक विस्तारका क्रममा क्षति भएकाले अर्को प्रवेश द्वार निर्माण गरिएको छ।

तीन करोड ३६ लाख १३ हजार ८७८ रुपियाँको लागतमा गत वर्षको वैशाख १९ भित्र पुनर्निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो। समयमा काम पूरा नभएपछि गत पुससम्म म्याद थप गरिएको थियो। पछिल्लो पटक थपिएको समयमा पनि प्राविधिक जटिलता आएको र मर्मत गर्नुपर्ने सुरुङ मार्गको भाग थपिएको भन्दै पुनः म्याद थप्न निर्माण कम्पनीले निर्देशनालयसँग माग गरेको थियो। 

प्रवक्ता ओझाले सुरुङको बाँकी काम आगामी असारसम्ममा पूरा हुने गरी अगाडि बढाइएको जानकारी दिँदै सुरुङ मार्गको १९८ मिटर भागको जीर्णोद्धार गर्न ठेक्का लगाइएकोमा करिब २२५ मिटर पुग्ने अनुमान गरिएको बताउनुभयो।

चुरे पहाडमा बक्स कट गर्नुपूर्व २०२०–२१ सालसम्म मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरियामाई सुरुङ मार्ग भएर जिप, लहरीलगायतका साना सवारी आवतजावत गर्ने गरेका थिए। नेपालको पहिलो सुरुङ मार्गको परिकल्पनाकार ब्रिगेडियर कर्णेल डिल्लीजङ्ग थापाको अगुवाइमा विसं १९७४ मा निर्माण गरिएको चुरियामाई सुरुङ मार्ग निर्माण सम्पन्न गर्न दुई वर्ष लागेको थियो। तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबराले सुरुङ मार्ग निर्माणको नेतृत्व गर्न नेपालका प्रथम स्नातक इन्जिनियर थापालाई दिनुभएको थियो। रक्सौलबाट बारा जिल्लाको अमलेखगन्जसम्म रेलमा आउने र अमलेखगन्जबाट मकवानपुरको पूर्वसदरमुकाम भीमफेदीसम्म सडक मार्गलाई जोड्न हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरे पर्वत छिचोल्ने गरी सुरुङ मार्ग तत्कालीन प्रविधिसँगै माटो, इँटा, चुना र सुर्की प्रयोग गरी निर्माण गरिएको पाइन्छ।