• १४ मंसिर २०८१, शुक्रबार

स्थानीय मौलिकता झल्कने चार पुल बन्ने

blog

काठमाडौँ,  जेठ २३ गते । सडक विभागले आगामी वर्ष चार स्थानमा पुल निर्माण गर्न प्रक्रिया अघि बढाउने भएको छ । 

काठमाडौँ उपत्यकाको बागमती नदी, चितवनको नारायणी नदी, कास्कीको विजयपुर र रुपन्देहीको तिनाउ नदीमा आधुनिक पुल निर्माणका लागि अध्ययन थालिएको सडक विभाग, पुल महाशाखाका प्रमुख नरेशमान शाक्यले बताउनुभयो ।  

उहाँले भन्नुभयो, “विश्वका कतिपय सहर पुलका कारण चिनिन्छन्, त्यसैगरी यी पुल पनि ती ठाउँको परिचय झल्किने गरी बनाउन लागिएको छ ।” विशेषतासहित पुल निर्माणको योजना बनाइएको शाक्यको भनाइ छ । 

नयाँ बनाइने चारवटै पुलमा स्थानीय मौलिकता समेट्ने गरी डिजाइन गरिने उहाँले बताउनुभयो । काठमाडौँमा मन्दिर वा कुनै कलात्मक कुरा, चितवनमा गैँडा र अरू ठाउँमा पनि त्यहाँको विशेषता समेट्ने योजना रहेको छ । तिनाउ नदीमा विश्व बैङ्कको ‘सिग्नेचर पुलमा एक्सेस प्रोग्राम’ अन्तर्गत पुल निर्माण गर्न लागिएको छ । पोखरामा पुल निर्माणका लागि विभागले अन्तर्राष्ट्रिय विज्ञको सहयोगमा डिजाइन तयार गर्ने योजना बनाएको छ । रासस