शालिग्राम नेपाल
खैरहनी (चितवन), मङ्सिर १४ गते । स्थानीय तहलाई दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्न चुनौती भइरहेको समयमा चितवनका दुई पालिकालाई भने आम्दानीको स्रोत बनेको छ । सहरबजार तथा विभिन्न स्थानबाट निस्कने फोहोर निजी संस्थाले उठाएर त्यसको उचित व्यवस्थापनसँगै आयआर्जन गरेको छ । दैनिक १८ टन फोहोरको व्यवस्थापनसँगै त्यसबाट आम्दानी गरी रोजगारीसमेत दिँदै आएको छ । चितवनको खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकाले फोहोर व्यवस्थापन गर्न कुनै समस्या र खर्च गर्नु परेको छैन ।
दुई वर्षदेखि खैरहनी नगरपालिकामा रहेको सफा ऊर्जा प्रालि उद्योगले दुई पालिकाको फोहोर खरिद गरेर त्यसको व्यवस्थापन गर्दै आएको हो । डाक्टर, इन्जिनियरसहित ७० जनाको लगानीमा फोहोर व्यवस्थापन गरी त्यसलाई बिक्री गरेर आम्दानी गर्दै आएका हुन् ।
सफा ऊर्जा प्रालिका सञ्चालक योगेन्द्र केसीले भन्नुभयो, “पालिकाबाट निस्कने फोहोरलाई वर्गीकरण गरेर त्यसलाई बिक्री गर्ने, प्राङ्गारिक मल बनाएर बिक्री गर्दै आएका छौँ ।” दुई वटा नगरपालिकाबाट सङ्कलन गरेको फोहोरमध्ये ७० प्रतिशतलाई आम्दानीका रूपमा प्रयोग गरिएको छ । बाँकी ३० प्रतिशत फोहोरलाई डम्पिङ क्षेत्रमा फालिएको छ । केही समयपछि ती ३० प्रतिशत फोहोर पनि काम लाग्ने गरी प्रयोगमा ल्याउन मेसिन जडान गर्ने तयारी भएको केसीले जानकारी दिनुभयो ।
सफा ऊर्जा प्रालिले पालिकाको फोहोरलाई व्यवस्थापन, त्यसबाट मल उत्पादन र कृषि उत्पादन गर्दै आएको छ । सञ्चालक मध्येका एक व्यवस्थापक केसीले भन्नुभयो, “उठाउने स्थानबाटै वर्गीकरण गरेर फोहोर ल्याउने गर्दछौँ ।”
उद्योगमा आएपछि कुहिने फोहोर र नकुहिनेलाई अलग स्थानमा राखिन्छ । कुहिने फोहोरलाई प्राङ्गारिक मल निर्माणको चरणमा लैजाने गरिन्छ । केही दिनपछि मल भएर प्याकेटमा बजारमा जान्छ । परीक्षण गरेर बजारमा जाने भएकाले फलफूल तथा नर्सरीले यो मल प्रयोग गर्दै आएका छन् । कुहिनेमा मासु तथा अन्य फोहोरलाई कुहाएर ग्यासका रूपमा खाना पकाउन र बत्ती बाल्नका लागि प्रयोग भएको छ ।
नकुहिनेमध्येको प्लास्टिकका बोतल तथा भाडालाई जम्मा पारेर प्लास्टिक उद्योगमा कच्चा सामग्रीका रूपमा बिक्री गर्दै आएको छ । साना प्लास्टिकका झोला तथा फुटेका च्यातिएका झोला तथा अन्य पातला सामग्रीलाई धुलो बनाएर दानाका रूपमा कच्चा सामग्री निर्माण गरेर उद्योगलाई बिक्री गरिँदै आएको छ । अर्को ठुलो मात्रामा आउने कागजजन्य वस्तुलाई अन्डाका व्रmेट निर्माण गर्ने कम्पनीलाई बिक्री गर्ने गरिएको छ । पालिकाबाट आउने सिसाका नफुटेका बोटललाई पुनः प्रयोगका रूपमा ल्याउन बिक्री गर्ने, फुटेका सिसालाई धुलो बनाएर इन्टरब्लक निर्माण गरेर पर्खाल तथा घर निर्माणमा इँटाका रूपमा प्रयोगमा ल्याएको छ ।
त्यस्तै गरी कपडाका फोहोरलाई पुनः प्रयोग गर्न मिल्नेलाई सिलाएर बिक्री गर्ने र टुक्रा भएका कपडालाई पेलेर कपास निर्माण गरी आम्दानी गर्दै आएको उहाँले जानकारी दिनुभयो । फलाम, टिन तथा अन्य सामग्रीलाई पनि कच्चा सामग्रीका रूपमा उद्योगमा बिक्री गरिँदै आएको छ । जुत्ता तथा अन्य फोहोरलाई सम्बन्धित उद्योगमा कच्चा सामग्रीका रूपमा निर्यात गरेको उहाँले जानकारी दिनुभयो ।
नगरपालिकालाई व्यवस्थापन गर्न चुनौतीका रूपमा रहेको फोहोर सफा ऊर्जा प्रालिले वार्षिक रूपमा पालिकालाई फोहोरको शुल्क तिरेर खरिद गर्दै आएको छ ।
दुई बिघा १० कट्ठा क्षेत्रफलमा रहेको उद्योगमा १२ करोड रुपियाँ लगानी गरिसकेको सञ्चालक केसीले बताउनुभयो । प्रालिले आफ्नै मलको प्रयोग गरेर पाँच बिघा जग्गा भाडामा लिएर खेती गर्दै आएको उद्योगका सञ्चालक सदस्य फणिन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
निजी क्षेत्रको मात्र लगानी र व्यवस्थापन भएकाले पालिकाबाट सहयोग भएमा सञ्चालन गर्न सहयोग पुग्ने व्यवस्थापक केसीले बताउनुभयो । पालिकाबाट फोहोर खरिद गर्नु नपरे र मेसिन खरिदमा अनुदानको व्यवस्था भएमा राहत हुने उहाँको भनाइ छ । दैनिक ९० मेट्रिकटन फोहोर व्यवस्थापन गर्न सक्ने क्षमता रहेको उद्योगले भरतपुर महानगरपालिकाको फोहोर उठाउन माग गरे पनि नदिएको केसीले बताउनुभयो । महानगरपालिकाको तरकारी मन्डीको फोहोर मात्र उठाएर ल्याउने गरेको उहाँको भनाइ छ । फोहोर व्यवस्थापनमा नयाँ काम गरेको भन्दै काठमाडौँ महानगरपालिकाको प्रतिनिधि र जापान सरकारका प्रतिनिधि आएर अवलोकन गरेको केसीले जानकारी दिनुभयो ।