• ६ जेठ २०८१, आइतबार

आहा अन्नपूर्ण (फोटो फिचर)

blog

अन्नपूर्ण हिमालकाे आधार शिविर तस्बिरहरू: साधन घर्ती

म्याग्दी (दरबाङ), जेठ ९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर चार हजार १९० मिटर उचाइमा अवस्थित छ । मौरिस हर्गोज पदमार्गबाट हिँडेर आधार शिविर पुग्न सकिन्छ । गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि ४३ किलोमिटर दुरीमा पर्ने आधार शिविर जान वडा नम्बर ४ को हुमखोलादेखि २१ किलोमिटर पैदल यात्रा गर्नुपर्छ ।

तेर्सो, उकालो र ओरालो ७ घण्टाको पैदल यात्रामार्फत आधार शिविरमा पुग्न सकिन्छ । पैदल यात्राबाट आधार शिविर नजिक पुग्दा त्यस सेरोफेरोको दृश्यले मोहित बनाइ दिन्छ । पदमार्गबाट देखिने सुन्दर झरना र प्राकृतिक सौन्दर्यता उस्तै । आधार शिविरबाट ‘मुसुक्क’ मुस्कुराएको देख्न सकिन्छ अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) । चार हजार तीन सय पाँच मिटर उचाइबाट देखिने हिमालको मनमोहक दृश्यले तपाईंको थकान सबै मेटाइदिन्छ । अन्नपूर्णलाई नजिकैबाट हेर्न र चुम्न जुनै भूगोलमा रहे पनि अधिकांशको इच्छा हुन्छ । निलगिरी र अन्नपूर्ण पग्लेर बनेको पञ्च कुण्ड तालसँगैको मनमोहक दृश्यले स्वर्गको अनुभूति हुन्छ ।

अन्नपूर्ण हिमाल संसारको दसौँ अग्लो हिमाल हो । अन्नपूर्ण आरोहणका लागि विभिन्न कम्पनीबाट पुगेका आरोही र पर्यटकहरूको आधार शिविरमा चहलपहल छ । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको थियो । मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो ।









Author

साधन घर्ती