• १२ साउन २०८१, शनिबार

सात वर्षदेखि ठेकेदार बेपत्ता तामाकोसी नदीको पुल अलपत्र

blog

२०७३ सालमा निर्माणको लागि ठेक्का लगाई सम्झौता गरिएको तामाकोसी नदीको पुल । तस्विरः बाबुराम शर्मा

दोलखा, जेठ ९ गते । दोलखाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाको सिमानामा रहेको तामाकोसी पुल निर्माणको लिएको ठेकेदार बेपत्ता बनेको छ । वि.सं. २०७३ सालमा आठ करोड ४५ लाख १० हजार रुपियाँमा ठेक्का सम्झौता गरेपछि ठेकेदार कम्पनी मिलगिरी नेशनल जेभी हालसम्म बेपत्ता भएको हो । 

जिल्लाका चार वटा पालिकाको मुख्य राजमार्ग लामो साँघु– जिरी सडक खण्ड अन्तर्गत पर्ने तामाकोसी पुल निर्माण सम्पन्न हुन नसक्दा स्थानीयले सास्ती खेप्नु परेको छ । चार वटा स्थानीयलाई सदरमुकामसम्म जोड्ने र आधा दर्जन हाइड्रोपावरको सामान ढुवानी हुने यो पक्की पुल नबन्दा अहिले जीर्ण अवस्थामा रहेको पुलबाटै यातायात सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । आयु सकिसकेकाले जीर्ण पुल कति बेला ढल्छ भन्ने यकिन छैन । जोखिम मोलेर यातायात सञ्चालन भइरहेका छन् । 

जिल्लाको सदरमुकाम चरिकोट हुँदै मैना पोखरी, जिरी,तामाकोसी हुँदै रामेछापको सदरमुकाम मन्थली ओहोरदोहोर गर्ने तामाकोसी पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले सात वर्षदेखि पुललाई अलपत्र पारेको स्थानीय राजनकुमार दाहालले बताउनु भयो । 

दाहालले भन्नु भयो,चरिकोट जिरी सडकसँगै निर्माण होला कि भन्ने, आशा गरेको पुल सडक निर्माण सकिएको तीन वर्ष बितिसक्दा पनि अझै अलपत्र अवस्थामा रहेको छ । २०७४ सालमा ठेक्का सम्झौता भएको चरिकोट–जिरी ५५ किलोमिटर सडक २०७८ सालमै निर्माण सम्पन्न भयो । सडकभन्दा ठिक एक वर्ष अघि ठेक्का सम्झौता भएको पुल अझै निर्माण हुन नसक्दा जोखिम मोलेरै मालवाहक ठुला सवारी ओहोरदोहोर गर्नु परेको छ । 

ठेकेदारको लापरबाहीका कारण अहिले सो नदीको पुल अलपत्र अवस्थामा छ । जिल्लाको भीमेश्वर नगरपालिका हुँदै वैतेश्वर गाउँपालिका,तामाकोसी गाउँपालिका,जिरी नगरपालिका र गौरीशङ्कर गाउँपालिका समेत ओहोरदोहोर गर्ने मुख्य नदीको पुल निर्माण गर्न ठेकेदारसँगै जिल्लाका राजनैतिक दल र प्रदेश तथा सङ्घीय सरकार र सडक डिभिजन कार्यालयले समेत चासो नदेखाएको स्थानीयहरूको गुनासो रहेको छ । 

पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी मिलगिरी नेशनल जेभी हिजोआज सम्पर्क विहीन छ । सरकारले कोरोना भाइरसले पुल निर्माण प्रभावित बनेको भन्दै दुई पटक समय थप गरिदिँदा समेत अझै पुल निर्माण हुन सकेको छैन । करिब ४० वर्षअघि चरिकोट जिरी सडक निर्माण गर्दा बनाएको पुरानो पुल अहिले चारैतिरबाट चिरा परेर जीर्ण अवस्थामा पुगेको छ । पुरानो पुल जीर्ण अवस्थामा पुग्दा समेत ठेकेदार कम्पनीले पुल निर्माण गर्न चासो नदिएको स्थानीय डम्बर चौलागाईँले  दुखेसो पोख्नु भयो  । 

निर्माण कम्पनीले हालसम्म पुलको जग र पिलरबाहेक अन्य संरचना बनाउन सकेको छैन । समयमा पुल निर्माण नहुँदा तामाकोसी, जिरीमा निर्माणाधीन अवस्थामा रहेका हाइड्रोपावरका सयौँ टन सामना यहीँ पुरानो जीर्ण अवस्थामा पुगेको पुलबाट नै ढुवानी हुँदै आएको छ ।

वर्षा लागेसँगै तामाकोसी नदीमा पानीको अत्यधिक बहाव बढ्ने गर्छ । वर्षामा नदीबाट सवारी ओहोरदोहोर गर्न नसक्ने हुँदा पुलले क्षमताभन्दा बढी लोड बोकेर दैनिक सवारी ओहोरदोहोर गरिरहेका छन् । सम्बन्धित निकायको ध्यान जान नसकेकोमा स्थानीयहरू चिन्तित बनेका छन् । 

Author

बाबुराम शर्मा