• ७ वैशाख २०८१, शुक्रबार

जनप्रतिनिधिको एक वर्ष : आशाको सञ्चार गराउँदै विराटनगर

blog

शशिधर पराजुली 

विराटनगर, जेठ ९ गते । स्थानीय तहको निर्वाचनबाट प्रमुख नागेश कोइरालासहितका जनप्रतिनिधिले विराटनगर महानगरपालिकाको नेतृत्व सम्हालेको आज मङ्गलबार एक वर्ष पूरा भएको छ । वर्ष दिनको यो अवधिमा विराटनगर महानगरका प्रमुख नागेश कोइराला नेतृत्वको टिम महानगरवासीमा आशा जगाउँदै सुधारका केही काम थालनी गरेर सकारात्मक परिवर्तनको सञ्चार गर्न सफल देखिएको छ। 

एक वर्षअघि जिम्मेवारी वहन गर्दै गर्दा करको दर घटाएर नगरवासीलाई राहत दिने निर्णय गरेका कोइरालाले चालु आर्थिक वर्षको बजेटमार्फत कतिपय सेवाको महसुल, शुल्क र करको दर घटाएर जनतासँग गरेको वाचा पूरा गर्ने प्रयास गर्नुभयो। त्यसपछि सेवा प्रवाहमा सुधार र सुशासन स्थापना गर्ने कार्यमा महानगरले काम गरिरहेको छ। 

सेवा प्रवाहमा सुधार

आन्तरिक प्रशासन सुधार गरेर सेवा प्रवाहमा सुधार गर्ने प्रयासस्वरूप एक दशकभन्दा लामो समयदेखि एउटै शाखा महाशाखामा बसेर काम गरिरहेका कर्मचारीको व्यापक सरुवा भयो। यसले कार्यालयको कार्यसम्पादनलाई प्रभावकारी बनाउन सहयोग पुगेको प्रमुख नागेश कोइरालाले बताउनुभयो। 

“वर्षौंदेखि एउटा प्रक्रियामा चलिरहेको र थुप्रै बेथितिको विरासत बोकेको जीर्ण प्रशासन सुधार गर्ने विषय सोचे जस्तो सजिलो छैन। हामीले त्यही अप्ठ्यारोलाई स्वीकार गरेर नयाँ चुनौती लिने आँट गर्दा आन्तरिक प्रशासनमा सुधार गर्न सफल भएका हौँ,” प्रमुख कोइरालाले भन्नुभयो। 

गुणस्तरीय शिक्षामा जोड 

सार्वजनिक शिक्षा सुधारमा पनि महानगरले चासो दिएको छ। विद्यालयका शिक्षक कर्मचारीलाई पेसाप्रति जिम्मेवार बनाउन महानगरले महत्वपूर्ण कदम चालेको छ। जीर्ण रहेको विद्यालयको सुधार, शिक्षकको व्यवस्थापन र गुणस्तरीय पठनपाठनका लागि नियमित अनुगमन प्रणालीलाई व्यवस्थित बनाउने प्रयत्नमा महानगर सक्रिय बनेको छ।

विराटनगर महानगरपालिकाले सुशासन स्थापना गर्ने प्रयत्नस्वरूप भ्रष्टाचार न्यून गर्ने, कर्मचारीको कार्यदक्षता बढाउने, प्रभावकारी कार्यसम्पादन गर्ने, नागरिक सचेतनाका लागि गतिविधि सञ्चालन गर्ने कामलाई प्राथमिकतामा राखेको प्रमुख कोइरालाले जानकारी दिनुभयो। 

जनस्वास्थ्यप्रति जिम्मेवार 

यस अवधिमा महानगरको स्वास्थ्य महाशाखाले वडामा स्वास्थ्य शिविर सञ्चालन गरेर चार हजारभन्दा बढीलाई स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ। विराटनगर महानगरपालिकाले वैशाख ३ बाट पूर्ण खोप अभियान सञ्चालन गरेर बाल अधिकार संरक्षणको पक्षमा महानगरले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने प्रयत्न गरेको छ। 

महानगरले वैशाख १ देखि महानगरपालिका क्षेत्रका सार्वजनिक स्थलमा सुर्तीजन्य वस्तुको बिक्री  वितरण र सेवन गर्ने कार्यलाई रोक लगाउने निर्णय गर्दै प्रभावकारी कार्यान्वयनतर्फ अगाडि बढेको छ। सार्वजनिक स्थलमा सुर्तीजन्य वस्तुको बिक्री  गर्नेहरू यसबिचमा कारबाहीमा परेका छन् भने अटेर गर्नेको सामान बरामद गरेर दण्ड दिने कार्यलाई पनि महानगरले निरन्तरता दिएको छ। 

उपभोक्तालाई स्वच्छ मासु बिक्री  गर्न नियमित अनुगमन निरीक्षण गर्ने कार्यलाई महानगरले निरन्तरता दिएको छ। लामखुट्टेको प्रकोप नियन्त्रण गर्न विषादी छर्ने कार्य महानगरले हिउँदयामबाटै सुरु गरेको थियो। सोही कारण गर्मी बढिसकेको यस अवधिमा विराटनगर क्षेत्रमा लामखुट्टेको प्रकोप विगतको तुलनामा घटेको छ। 

सहरी सौन्दर्यमा ध्यान 

सहरी क्षेत्रको सुन्दरता अभिवृद्धि गर्न महानगरपालिकाले बजार क्षेत्रमा नक्सापास नगरी बनेका टिनका टहरा हटाउने अभियान सञ्चालन गरेको छ। उज्यालो विराटनगर अभियान सञ्चालन गरेर सडक बत्तीको व्यवस्था गर्दा सहरको सुरक्षा र सौन्दर्य बढेको छ। 

विराटनगरको कलेज रोडलाई सौन्दर्यीकरण गरिएको छ भने हिमालय रोड सुधारको काम अन्तिम चरणमा पु¥याइएको महानगर प्रमुखका प्रेस संयोजक मीनकुमार श्रेष्ठले जानकारी दिनुभयो। 

सडक पेटी खुला गर्दै फुटपाथ व्यापारलाई महानगरले व्यवस्थित गरेको छ। यस्तै सार्वजनिक सडक व्यवस्थित बनाउन सहरका दर्जनभन्दा बढी स्थानलाई सवारी पार्किङ स्थलका रूपमा तयार गरी बजार क्षेत्रको सडकबाट पार्किङ हटाइएको छ। 

राजस्व २० प्रतिशतले वृद्धि 

मुलुककै आर्थिक अवस्था र राजस्व सङ्कलनमा ह्रास आइरहेको समयमा विराटनगर महानगरपालिकाले भने चालु आवको १० महिनामा राजस्व सङ्कलनमा उल्लेख्य प्रगति गरेको छ। 

गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा राजस्व परिचालन झन्डै २० प्रतिशत वृद्धि भएको राजस्व महाशाखाका प्रमुख सरोज गौतमले जानकारी दिनुभयो। महानगरले राजस्वको दायरा बढाउने, नयाँ व्यवसायलाई राजस्वको दायरामा ल्याउने, स्वीकृति नलिई बनाइएका संरचनालाई घरनक्साको दायरामा ल्याउनेलगायतका विशेष अभियान सञ्चालन गर्दा राजस्व आम्दानी बढेको गौतमले बताउनुभयो। 

१५० नयाँ योजनाको ठेक्का 

विराटनगर महानगरपालिकाले आव २०७९/८० मा १५० वटा योजना कार्यान्वयन गर्न टेन्डर आह्वान गरेको छ। अधिकांश योजना बहुवर्षे प्रकृतिका रहेको इन्जिनियर अर्जुन थापाले जानकारी दिनुभयो। पूर्वाधार विकासतर्फ यति धेरै योजनाका काम अगाडि बढाएर विराटनगरलाई पूर्वाधारतर्फ अग्रणी सहर बनाउनेतर्फ महानगरले कदम अगाडि बढाएको छ। यी सबै योजना सञ्चालन गर्न झन्डै दुई अर्ब रुपियाँ खर्च हुने बताइएको छ। 

गत आवमा महानगरले करिब ३६ करोड ५० लाख रुपियाँमा ९१ वटा योजना ठेक्का लगाएको थियो। उपभोक्ता समितिबाट हुने विकास निर्माणका योजना विवादमा पर्ने र गुणस्तरमा समेत गुनासो आउन थालेपछि महानगरले त्यसलाई घटाउँदै अधिकांश योजना ठेक्कामार्फत सञ्चालन गर्ने प्रयत्न गरेको हो। गत आवमा ४२२ वटा योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्दा झन्डै ४६ करोड रुपियाँ खर्च भएको थियो। चालु आर्थिक वर्षमा भने उपभोक्ताबाट गर्ने योजना झन्डै ७० प्रतिशतले घटाएर १२२ वटामा सीमित गरिएको छ। यी योजनामा महानगरको १५ करोड रुपियाँ खर्च हुन्छ। 

सरसफाइमा सजग 

विराटनगर महानगरपालिकाको जटिल समस्याका रूपमा रहँदै आएको सरसफाइ पछिल्लो समय व्यवस्थित हुँदै गएको छ। समयमा फोहोर नउठ्ने, सडक गल्ली तथा घरबाट फोहोर सङ्कलन नहुने समस्या पछिल्लो समय समाधान भएको छ। 

सरसफाइमा सजगता अपनाएको महानगरले बर्सातमा हुने डुबानको समस्या न्यूनीकरण गर्न चैतको सुरुदेखि सहरका नाला सफाइ गरेको छ। 

नगर प्रहरीको व्यापक परिचालन र सक्रियता बढेसँगै फुटपाथ ‘क्लियर’ भएको छ। बिजुलीको खम्बामा असरल्ल छोडिएको तारलाई व्यवस्थित गर्ने कार्य निरन्तर भइरहेको छ। महानगरपालिकाले नगर क्षेत्रमा नगर बस सञ्चालन गरेर नगरवासीलाई सहज र प्रभावकारी यातायात सेवा दिने योजना अगाडि बढाउँदै चारवटा मुख्य रुट निर्धारण गरेको छ।