• २८ पुस २०८१, आइतबार

सुरुङबाट पानी चुहिएपछि स्थानीय त्रासमा

blog

रामेछाप समाचारदाता

रामेछाप, जेठ ९ गते । लिखु–२ जलविद्युत् आयोजनाको सुरुङबाट पानी चुहिएपछि रामेछापको उमाकुण्ड गाउँपालिका–१ को पेकरनास, कोरेम र बच्छीका ४२ घरपरिवार जोखिममा परेका छन्। 

एमडी दुगड समूहको लगानीमा निर्माणाधीन ५५ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको सुरुङमा पानी हालेपछि गाउँमा जताततै पानी रसाएकाले स्थानीयवासीमा त्रास पैदा भएको हो। जलविद्युत् आयोजनाको सुरुङबाट चुहिने पानी घट्नुको साटो बढ्दै गएको पेकरनास, कोरेम र बच्छी उच्च जोखिममा परेको स्थानीय इन्द्रबहादुर खत्रीले बताउनुभयो। 

“पेकरनास, कोरेम र बच्छीका सबै बस्ती जोखिममा छन्, गाउँभरि जताततै पानीको मूल फुटेकाले सबैको निद्रा हराएको छ,” उहाँले भन्नुभयो। गाउँमा जताततै पानी उम्रिएपछि स्थानीयले बस्ती अन्यत्र स्थानान्तरण गरिदिनुपर्ने माग लिएर आयोजनाको कार्यालयमा धर्नासमेत दिएको उहाँले बताउनुभयो।  

उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले आयोजनाका कारण स्थानीयवासी त्रासमा रहेको बताउनुभयो। “निर्माणाधीन जलविद्युत् आयोजनाले सुरुङमा पानी हालेपछि सुरुङबाट पानी चुहिन थालेकाले अहिले ४२ भन्दा बढी घरपरिवार जोखिममा छन्,” उहाँले भन्नुभयो। 

अध्यक्ष सुनुवारले मङ्गलबार विद्युत् विकास विभाग र मन्त्रालयबाट लिखु–२, जलविद्युत् आयोजनाको सुरुङबाट पानी चुहिएको घटनाबारे आवश्यक अध्ययन र छानबिनका लागि आउने बताउनुभयो। 

रामेछापका सङ्घीय सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले सुरुङबाट चुहिएको पानीले बस्तीमा असर नगर्ने दाबी गर्नुभयो। मन्थलीमा आइतबार भएको अन्तव्रिर्mयामा उहाँले भन्नुभयो, “सुरुङ फुट्ला कि भन्ने चिन्ता लिनु पर्दैन, त्यो फुट्ने कुनै सम्भावना हुँदैन, पानी चुहिएको भन्ने समस्याको समाधान सम्बन्धित जलविद्युत् आयोजनाले गर्छ, यदि यसबाट कुनै घटना भएमा म जिम्मेवारी लिन्छु।”

अहिले उमाकुण्ड गाउँपालिकाको विभिन्न आठ स्थानमा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन्। यसमध्ये कतिजल विद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगिसकेका छन्। रामेछाप र ओखलढुङ्गा जिल्लाको सीमा भएर बग्ने लिखु नदीमा यी जलविद्युत् आयोजना निर्माण भएका हुन्।