• १२ साउन २०८१, शनिबार

सात वटा भारतीय मालवाहक साधन प्रहरीको नियन्त्रणमा

blog

कपिलवस्तुको सुठौली भन्सार कार्यालय । तस्विरः नारद कोहार

तौलिहवा, जेठ ८ गते । कपिलवस्तुको सुठौली भन्सारबाट आएको सात भारतीय माल बाहक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रज्ञापन पत्रमा लेखिएको भन्दा बढी तौल देखिएपछि प्रहरीले फ्ला.इएस ( सिमेन्टको कच्चा पदार्थ) बोकेका ७ भारतीय मालवाहक साधनलाई नियन्त्रणमा लिएको हो ।

भन्सार कार्यालयको आफ्नै धर्म काटा नभएपछि सो सवारी साधन यशोधरा गाउँपालिका– ५ बैदौलीस्थित हासिल धर्म काँटामा तौल गराउने गर्छ । सो धर्म काटामा ७ वटा गाडीको फ्लाइएस बोकेको गाडीको तौल २ लाख ५० हजार ५ सय केजी तौल गरी भन्सारले प्रज्ञापन पत्र बनाएर गाडी नेपाल भित्राइएको थियो ।

तौलिहवामा प्रहरीले शङ्का लागी युपी ७० जीटी १९६२, युपी ६४ एटी २४२५, युपी ६४ एटी २४२८, युपी ६४ एटी २४२७, युपी ४३ एटी ६३६४, युपी ४३ एटी ६३६५ र युपी ४३ एटी ७४११ नम्बरको गाडीलाई रोकेर सोही हासिल धर्म काँटामा लगेर तौल गराइएको थियो । त्यही धर्म काँटामा त्यही मालवाहक साधनलाई तौल गराउँदा २ लाख ६८  हजार ५९५ केजी तौल देखिएको प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बताउनुभयो ।

प्रज्ञापन पत्रभन्दा १८ हजार ९५ केजी बढी तौल देखिएको हो ।  ‘त्यस्ता मालवाहक सवारी साधनले प्रज्ञापन पत्रभन्दा बढी सामान ल्याउने गरेको गुनासो आएको थियो, त्यही आधारमा तौल गर्दा प्रज्ञापन पत्रभन्दा १८ हजार किलो बढी देखिएको थियो’ प्रहरी उपरीक्षक प्रे बहादुर बस्नेतले भन्नुभयो । उहाँका अनुसार नियन्त्रणमा लिइएको मालवाहक साधनलाई आवश्यक कारबाहीका लागि बुटवलस्थित राजस्व अनुसन्धान कार्यालय पठाइएको छ ।

सुठौली भन्सारको अझैसम्म आफ्नो धर्मकाँटा छैन । जसले गर्दा भन्सार नजिकै रहेको धर्मकाँटामा तौल गराइने गरिएको छ । यो नाकामा फ्लाइएस मात्र होइन अन्य माल सामान ल्याउँदा पनि भन्सार कर्मचारीको मिलेमतोमा प्रज्ञापन पत्रभन्दा बढी सामानहरू भित्राइने गरेका व्यापारीहरू बताउँछन् । ‘एउटै धर्मकाँटामा भन्सारले गरेको तौल र प्रहरीले गरेको तौलमा कसरी फरक आउँछ ’ एक व्यापारीले भन्नुभयो ‘यसमा सरासर मिलेमतो देखिन्छ ।’

सुठौली भन्सार कार्यालयका प्रमुख चुराबहादुर सर्तुङ्गीले ७ वटा गाडीको तौलमा त्यत्ति फरक आउनु सामान्य कुरा रहेको दाबी गर्नुभयो । हावाको प्रेसर डिजेल, पाइप लगायतका कारण एउटा गाडीमा १ हजारदेखि २ हजार केजी म्म फरक आउन सक्ने उहाँको दाबी छ । फ्लाइएसको भन्सार शुल्क प्रति टन १ हजार रुपियाँ रहेको उहाँले बताउनुभयो । 

Author

नारद कोहार