• १२ साउन २०८१, शनिबार

कांग्रेसले नेता खाणमाथि अनुसन्धानपछि कारबाहीबारे निर्णय गर्ने

blog

काठमाडौं, वैशाख २८ गते । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोप लागे पछि नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीलाई बुधबार निलम्बन गरेको छ । यता बुधबार नै पक्राउ परेका नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पार्टीले कारबाही गर्ने–नगर्ने भन्ने विषयमा प्रहरी अनुसन्धानको परिणाम आएपछि मात्रै निर्णय गर्ने भएको छ । 

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बुधबार बसेको पदाधिकारी बैठकले तत्काल कुनै कारबाही नगर्ने निर्णय गरेको हो । अर्थमन्त्रीसमेत रहनुभएका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अनुसन्धान निष्पक्ष ढङ्गबाट होस् भन्ने पार्टीको चाहना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रारम्भिक रूपमा बालकृष्णजीले सहयोग गरिरहनुभएको छ । अनुसन्धानमा सघाइरहनुभएको छ । 

अनुसन्धान सकिएपछि त्यसैका आधारमा निर्णय हुन्छ ।” उहाँले अनुसन्धानको परिणाम नआउँदासम्म नेता खाण आरोपित मात्रै भएकाले कारबाहीबारे कुनै निर्णय नभएको बताउनुभयो । उहाँका अनुसार पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बिहीबार पुनः बोलाइएको छ ।

अनुसन्धानका क्रममा प्रहरीले फेला पारेको एक अडियो वार्तामा पीडितले खाणको घरमा पुगेर छ करोड रुपियाँ खाणपत्नी मञ्जुलाई बुझाएको बताएका छन् । प्रहरी हिरासतमा रहेका पूर्वगृहसचिव टेकनारायण पाण्डेले खाण र केसीले रकम लिएको भन्ने बयान दिएपछि प्रहरीले लेनदेनका अन्य प्रमाण फेला पारेको जनाएको छ । सोही प्रकरणमा जोडिएका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार हुनुहुन्छ । तत्कालीन गृहमन्त्री तथा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई तथा रायमाझीका छोरा सन्दीपलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।