घोडाघोडी समाचारदाता
घोडाघोडी, वैशाख १० गते । पश्चिम नेपालका युवा सिकलसेल एनिमिया सामुदायिक अस्पताल सञ्चालन गर्ने जमर्को गरिरहेका छन् । सुदूरपश्चिमका तराई क्षेत्रमा सिकलसेलको समस्या रहेको छ । कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङलगायतका युवा मिलेर अहिले सिकलसेल सामुदायिक अस्पताल सञ्चालन गर्न सरकार र दातृ निकाय गुहारिरहेका छन् ।
सिकलसेल रोगबाट प्रभावितको सहज उपचारका लागि दाङका जीवराज चौधरीको अध्यक्षमा निर्माण गरिएको ५३ सदस्यीय युवा समूहले सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र स्थापनाका लागि पहल गरिरहेको छ । अध्यक्ष चौधरीले सिकलसेल बिरामीका लागि सरकारले दिँदै आएको एक लाख उपचार खर्च सबै बिरामीको पहँुचमा नरहेको र जनचेतनाको अभाव रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसैले सिकलसेल उपचारका लागि छुट्टै अस्पतालको आवश्यकता महसुस गरिएको हो ।”
उहाँका अनुसार थारू समुदायको १० लाखभन्दा बढी जनसङ्ख्यामध्ये करिब ११ प्रतिशत सिकलसेस प्रभावित छन् । सिकलसेलको उपचार हुने अस्पताल थोरै छन् । त्यसमा पनि छुट्टै वार्ड छैन, जेनेटिक परामर्शको अभाव छ, राज्यबाट दिएको सेवासुविधा अज्ञानताका कारण वञ्चित छन् । अध्यक्ष चौधरीले भन्नुभयो, “मेरै सम्पर्कमा सिकलसेलका २९ जना बिरामी छन् । मेरै परिवारका सदस्यको समेत सिकलसेल रोगका कारण उमेरमै मृत्यु भएको छ ।”
अध्यक्ष चौधरीले कैलालीको सेती, बाँकेको भेरी प्रादेशिक अस्पताललगायत केही निजी अस्पतालमा सिकलसेलको उपचार सेवा लिने व्यवस्था भए पनि सबै जिल्लाका बिरामीका लागि उपचार सहज नभएको बताउनुभयो । उहाँले स्थानीय सरकारसँग हातेमालो गरेर जनस्तरसम्म सिकलसेल रोगका बारेमा जनचेतना जगाउने कार्य गर्नेसमेत बताउनुभयो ।
उहाँका अनुसार धेरै मानिस उपचारका लागि आउन मानिरहेका हुँदैनन् । उनीहरूलाई वंशाणुुगत परामर्शको खाँचो छ । रोगवाहकलाई सामान्य मानिससँग विवाह गराउँदा तीन पुस्तापछि यो रोग हराएर जान्छ । समितिले अस्पताल सञ्चालनका लागि जग्गाको समेत जोहो गरिसकेको छ । अध्यक्ष चौधरीले भेटमणि चौधरी सहरी विकासमन्त्री हुँदा बाँकेको जानकी गाउँपालिका–३ मा १३ कट्ठा जग्गा खरिद गरेर मन्त्री चौधरीले गत भदौमा अस्पतालको शिलान्याससमेत गरेको जानकारी दिनुभयो । सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रका रूपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइसकेको छ ।
सिकलसेल सामुदायिक अस्पताल सञ्चालक समितिका सदस्य तथा कैलाली जिल्ला संयोजक इन्द्र दहिलतले थारू स्वास्थ्यकर्मी सङ्घको पहलमा सिकलसेल सामुदायिक अस्पताल सञ्चालनका लागि जनस्तरबाट सहयोग रकम जुटाएर सुरुवात गरेको बताउनुभयो । सेती प्रादेशिक अस्पतालका सामाजिक सेवा एकाइ प्रमुख गौरी जोशीले सेती अस्पतालमा हालसम्म आठ सयभन्दा बढी सिकलसेल प्रभावितले उपचार सेवा लिइरहेकोे बताउनुभयो । उहाँका अनुसार सिकलसेल रोग वंशाणुगत रूपमा सर्ने रोग हो । सिकलसेलसम्बन्धी समस्या दुई किसिमको हुन्छ, सिकलसेलवाहक र सिकसेल बिरामी । सिकलसेलवाहक भएका व्यक्तिमा स्वास्थ्यसम्बन्धी कुनै समस्या हुँदैन तर रोगीमा भने हातखुट्टा र शरीरका जोर्नीहरू दुख्ने, रगतको कमी हुनेजस्ता लक्षण देखिन्छ ।