दिपायल समाचारदाता
दिपायल, चैत २१ गते । डोटीको शिखर नगरपालिकाले २२५ जना सुत्केरीलाई पोषणयुक्त खानेकुरा, सरसफाइका सामग्री र न्यानो लुगा वितरण गरेको छ। उपमेयरसँग महिला कार्यक्रमअन्तर्गत एक दिनदेखि तीन महिनासम्मका सुत्केरीलाई पोषणयुक्त खानेकुरासँगै न्यानो कम्मल वितरण गरिएको स्वास्थ्य शाखा संयोजक हरिश शाहले बताउनुभयो।
पोषणयुक्त खानेकुरा खाने र सरसफाइ गर्ने बानीको विकास होस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको नगरउपप्रमुख सुनिता रावलले बताउनुभयो। “सधैँभरि सामग्री उपलब्ध गराउन नगरपालिकाको बजेटले भ्याउँदैन,” उहाँले भन्नुभयो, “कुपोषणबाट शिशुलाई जोगाउन पोषणयुक्त खानेकुरा खानुपर्छ भन्ने बानीको विकास होस् भनेर वार्षिक रूपमा यो कार्यक्रम सञ्चालन गर्दै आएका छौँ।”
सुत्केरीलाई नजिकको स्वास्थ्य संस्थामा बोलाएर सामग्री वितरण गर्नुका साथै सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिने गरिएको छ। सुत्केरी र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी हुने, भेटघाट पनि हुने भएकाले कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताइएको छ। उक्त सामग्रीसँगै नवजात शिशुको स्याहार, सरसफाइ र आमाको स्वास्थ्यको ख्याल गर्नुपर्छ भन्ने सन्देश पनि दिने गरेको उहाँको भनाइ छ।
नगरपालिकाले उपलब्ध गराएका सामग्रीले आफूहरूलाई राहत मिलेको शिखर नगरपालिका–१० की बबिता लुहारले बताउनुभयो। “हाम्रोतिर सुत्केरी अवस्थामा नुनसँग मात्रै भात खाने प्रचलन छ,” उहाँले भन्नुभयो, “कुपत बार्ने चलनका कारण घरका मान्छेले राम्रो खाना दिन मान्दैनन्। नगरपालिकाले अन्डा, दाल घ्युजस्ता खानेकुरा पनि उपलब्ध गराएको छ। घरका मान्छेलाई पनि पोषणयुक्त खानेकुरा खान दिनु भनेर सम्झाउनुभएको छ।