• १३ वैशाख २०८१, बिहिबार

“...अनि देशकै उत्कृष्ट विद्यालय बन्यो”

blog

भाइबहिनीहरू, यस पटक तपाईंहरूलाई नेपालकै उत्कृष्ट विद्यालयमध्ये एक विद्यालयका बारेमा जानकारी दिँदै छौँ । देशकै मध्यभागमा रहेको भरतपुर महानगरपालिका–१० स्थित नारायणी उच्च माध्यमिक विद्यालय । यो स्कुल अहिले देशकै नमुना विद्यालय हो । 

छ दशकअघि रात्रिकालीन विद्यालयका रूपमा स्थापित यस स्कुलको आफ्नै कथा व्यथा छ ।  स्थापना भएको यस विद्यालयले हिरक महोत्सवसमेत मनाइसकेको छ । ६० वर्षअघि भरतपुरको एउटा झुप्रोमा टुकी, लालटिन र मैनटोल बालेर रातिमा पढाउन सुरु गरिएको  हो । अहिले यो स्वदेशकै उत्कृष्टमध्येको दोस्रो विद्यालय हो नारायणी माध्यमिक विद्यालय । जुन विद्यालयमा अहिले विद्यार्थी भर्ना गर्न देशमै  नाम चलेका निजी विद्यालयभन्दा चर्को प्रतिस्पर्धा हुन्छ । विद्यालयले कडा प्रवेश परीक्षा लिएर मात्रै  विद्यार्थी छनोट गर्नुपर्ने बाध्यता छ । 

“हामीले परीक्षा लिएनौ भने त विद्यार्थीको चाप थेगिसक्नु हुँदैन,” विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद दवाडी भन्नुहुन्छ, “विद्यालयमा भएको सीमित स्रोत र साधनले विद्यार्थीको चाप थेगिसक्नु हुँदैन ।”  वि.सं. २०२० जेठ ६ गते चार जना विद्यार्थीलाई रात्रिकालीन कक्षाबाट सुरु गरिएको यो विद्यालय सुरुका वर्षमा त एसएलसी (अहिलेको एसईई)मा शून्य नतिजा निकाल्ने गरेको तितो यथार्थ विद्यालयमा छ । पछि सरोकारवालाको निरन्तर परिश्रमका कारण यो विद्यालय अहिले देशकै दोस्रो उत्कृष्ट विद्यालय बन्न सफल भएको छ ।  

गुणस्तरमापन केन्द्रको परीक्षणमा ९३.०५ प्रतिशत अङ्क प्राप्त गरी देशकै  दोस्रो उत्कृष्ट बन्न सफल यस विद्यालयमा अहिले तीन हजार ५७० विद्यार्थी अध्ययनरत छन् ।  “चार वर्षमा प्रवेशिका परीक्षा उत्तीर्ण गराउने उद्देश्यका साथ नारायणी रात्रि हाइस्कुलको नामबाट यो विद्यालय स्थापना भएको हो,” विद्यालयका प्रअ दवाडी विद्यालय स्थापनाको कथा भन्नुहुन्छ, “ लालटिन, मैनटोल, टुकी  बालेर पढ्न आउने विद्यार्थी दिनभरिको कामले थाकेका र बढी उमेरका हुन्थे ।”

उ बेला बेलुका ५ देखि ९ बजेसम्म अध्यापन गराउने यो विद्यालय २०३७ सालबाट बिहानी, २०४५ सालबाट दिवा सेवा पनि सञ्चालनमा ल्याइएको हो । दिवा कक्षा सञ्चालन सुरु गर्दामध्येका एक हुन्– शिक्षक अहिलेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापा । उहाँ थप्नुहुन्छ, “विद्यालयको नतिजा निराशाजनक थियो । यससगैँ सञ्चालन शैलीमा केही परिवर्तन गर्नुपर्ने महसुस गरेर हामीले  क्रमशः सुधारका योजना अघि बढायौँ । अतिरिक्त कक्षा  अङ्ग्रेजी, गणितजस्ता विद्यार्थीलाई गाह्रो लाग्ने विषयको सञ्चालन गर्न थालियो । अनि विस्तारै विद्यालयले सुधारको फड्को मार्दै गयो । अहिले त देशकै नमुना विद्यालयमा पर्छ ।” विद्यालयको सफलताका पछाडि सामूहिक प्रयत्न र पहल नै प्रमुख कारण ठान्नुहुन्छ, प्रधानाध्यापक दवाडी । 

“विद्यार्थी भर्नामै प्रवेश परीक्षा लिने, उत्तीर्ण अङ्क ४० गर्ने, शिक्षक प्रतिबद्धता लिने, नतिजाको विश्लेषण र सार्वजनिकीकरण गर्ने, परीक्षालाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउनेलगायतका काम नियमित 

गरेपछि विद्यालयमा सुधार हुँदोरहेछ,” उहाँले भन्नुभयो, “यसमा सबैको सहकार्य र प्रतिबद्धता भए नमुना बन्न सकिँदोरहेछ ।” विद्यार्थीको नियमित अनुगमन, गृहकार्य डायरी, दैनिक पाठ तथा डायरीले  विद्यार्थीलाई  पढ्ने वातावरण बनेको छ । योजनाबद्ध रूपमा अगाडि बढेको २०६८ सालबाट राष्ट्रिय मूल्याङ्कनमा  विद्यालय उत्कृष्ट छ ।  

विद्यालयमा “विशेषतः दुईथरीका अपाङ्गताको हामीले अपाङ्गता एकाइ नै स्थापना गरेर पठनपाठन गरिरहेका छौँ । यसमा ३२ जना दृष्टिविहीन र ३४ जना बौद्धिक अपाङ्गता अध्ययनरत छन् ।”

सुविधासम्पन्न विद्यालय भवन, शिक्षण अनुकूल कक्षाकोठा, सुविधासम्पन्न बगैँचा अनि पर्याप्त खेलमैदान विद्यालयका विशेषता हुन् ।  अङ्ग्रेजी माध्यमबाट पढाइ हुने यो विद्यालयमा माथिल्लो कक्षामा देखिएको सुधार राम्रो भए पनि अझै तल्लो कक्षाको सिकाइ उपलब्धिमा सुधार हुन नसकेको भरतपुर महानगरपालिका शिक्षा शाखा प्रमुख महेन्द्रप्रसाद पौडेल बताउँछन् ।  

“यो विद्यालय देशैभरि उत्कृष्ट विद्यालय हो । सामुदायिक विद्यालयले पनि अभिभावकको मन जितेको छ । त्यसमा हामीले गौरव गर्नुपर्छ तर विद्यार्थीको सिकाइ उपलब्धि हेर्ने हो भने ठूलो कक्षाको तुलनामा सानो कक्षामा धेरै सुधार हुनुपर्ने देखिन्छ । अहिले विद्यार्थी सङ्ख्या सिकाइ उलब्धिलाई हेर्ने हो भने उल्टो प्यारामिटरमा छ । अब सानैदेखि विद्यार्थीको गुणस्तर सुधार गरेर लैजानुपर्ने अवस्था देखिन्छ,” पौडेलले भन्नुभयो । उहाँले तल्लो कक्षाबाटै विद्यार्थीको पढाइ सुधारमा लाग्ने हो भने यो विद्यालय देशकै सम्पत्ति हुने बताउनुभयो । 

लामो समय चितवनको शिक्षा क्षेत्रमा  क्रियाशील बाबुराम दवाडी नारायणी माध्यमिक विद्यालयले अझै गुणस्तर सुधार गर्नुपर्ने आवश्यकता देख्नुहुन्छ । भन्नुहुन्छ, “यस विद्यालयमा बढ्दो विद्यार्थी सङ्ख्याको आधारमा भौतिक संरचना कम भयो । खेलमैदान पनि साँघुरो भयो । समयसापेक्ष यसमा सुधार गर्नुपर्ने देखिन्छ ।” यद्यपि शिक्षण सिकाइका दृष्टिले देशमै नमुना विद्यालय भएकाले यसबाट अन्य विद्यालयले पनि सिक्न जरुरी रहेको उहाँको भनाइ छ ।