• १६ चैत २०८०, शुक्रबार

धावक बन्ने रिकजनाको सपना

blog

‘भविष्यमा राम्रो खेलाडी बनेर चिनिने मेरो लक्ष्य छ । उत्कृष्ट धावक बनेर राष्ट्रिय रूपमा परिचित हुने मेरो सपना हो’ । मुनासँगको कुराकानीमा रिकजना माझीले भनिन । म्याग्दीको मंगला गाउँपालिका–५, पोककी रिकजना मङ्गला माविको कक्षा ८ मा अध्ययनरत छिन । खेलकुदका साथै उनी पढाइमा पनि अब्बल छन् । हामीले कतै देखेका हुन्छौँ भीर पहरामा पनि राम्रो फूल फुलेको हुन्छ । दुई ढुङ्गाको बीचबाट उम्रिएको बिरुवा सङ्घर्ष गरेर उर्किएको हुन्छ । यस्तै उदाहरण हुन रिकजना । उनी लाखौँ बालबालिकाका लागि एउटा प्रेरणाको स्रोत हुन सक्छिन् । 

कक्षामा उनी प्रथम हुन् । रिकजनाको परिवार गरिबी, अभाव र आर्थिक समस्यासँग जुधिरहेको छ । दैनिक रूपमा ज्याला मजदुरी गरेर दैनिकी चलाउने उनको परिवार सुकुम्बासी हो । चरम अभाव र समस्यालाई जितेर रिकजना उदीयमान खेलाडी बन्न सङ्घर्षशील छन् ।  हालै सम्पन्न भएको जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्स खेलका विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन गर्दै चार स्वर्ण पदक हात पारिन् । उनले यसभन्दा अघि पालिका स्तरीय खेलकुद प्रतियोगितामा पनि छ स्वर्ण जित्न सफल भएकी थिइन् । रिकजनाको उत्कृष्ट खेलले  विद्यालयले तृतीय स्थान हासिल ग-यो । 

रिकजनाको बुवाआमाले बिहान, बेलुकी हातमुख जोड्न अर्काको घरमा मजदुरी गर्छन् । उनका बुवाआमा तिलक र विष्णु माझीले दैनिक रूपमा ज्याला 

मजदुरीबाट परिवार पाल्ने गरेका छन् । पढाइमा अब्बल रिकजनाको शिक्षादीक्षाका लागि छिमेकी भुवानी बुढाथोकीले आफ्नै घरमा राखेका छन् । 

दुःख, कष्ट, अभावलाई झेल्दै प्रतिकूल परिस्थितिमा पनि सामान्य अभ्यासबाटै खेलकुद विधामा सफलता प्राप्त गरेपछि गाउँलेहरू दङ्ग छन् ।  मेहनत र परिश्रमबाट प्राप्त हुने सफलतालाई गरिबीले छेक्न सक्दैन भन्ने उदाहरणसमेत रिकजना बनेकी छन् । रिकजनाले गाउँघरमा दौडँदा दौड्दै 

जिल्लास्तरीय राष्ट्रपति खेलकुद प्रतियोगितामा पदक जितेर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी र एउटै खेलाडीले धेरै पदक जित्दै पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपका लागि समेत छनोट भएकी छन् । 

रिकजना एथलेटिक्सकी सुन्दर भविष्य  हुन्, अनुभवी प्रशिक्षकको साथ पाएर धेरै प्रगति गर्न सक्ने खेलाडी हुन्, छिमेकी गोविन्द रोकाले मुनासँगको 

कुराकानीमा भने । सानो उमेरमै धावकजस्तै दौडिएर सबैलाई चकित बनाउने रिकजना भविष्यमा राम्रो प्रतिभाशाली खेलाडी हुन सक्छिन् । चैत ३ गते हुने गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पनि आफूले उत्कृष्ट खेल प्रतिभा प्रदर्शन गर्नेमा उनी विश्वस्त छिन् । मलाई विश्वास छ मैले पोखरामा पक्कै पनि उत्कृष्ट प्रदर्शन गर्न सक्छु ।  रिकजना अन्य बालबालिका लागि प्रेरणाको स्रोत हुन् ।