• १३ असोज २०८१, आइतबार

वैशाखदेखि फ्रेन्च फ्राइज उत्पादन

blog

बुटवल, फागुन २८ गते । रुपन्देहीको शुद्धोधन गाउँपालिका–४, मैनहियामा स्थापना भएको फस्र्ट च्वाइस फुड्स प्रालिले वैशाखदेखि उत्पादन थाल्ने तयारी सुरु गरेको छ । 

फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्देश्यले २०७४ सालमा यो उद्योग दर्ता भएको थियो । अहिले उद्योगको भवनलगायत अन्य संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

उद्योगका सञ्चालक कृष्णप्रसाद पौडेलले अहिले भौतिक संरचना निर्माण र मेसिन जडानको काम अन्तिम चरणमा पुगेको र वैशाखदेखि उत्पादन सुरु गर्ने तयारी भइरहेको बताउनुभयो । पौडेलका अनुसार आलुबाट तयार हुने फ्रेन्च फ्राइज उद्योगको मुख्य उत्पादन हुनेछ भने त्योसँगै आलु टिक्की, आलु बर्गर, आलु चिप्स, आलु समोसा, आलु पकौडालगायत आलुकै करिब एक दर्जन परिकार उत्पादन हुनेछ ।

करिब दुई अर्ब रुपियाँ लगानी हुने यो उद्योगले अहिले प्रतिघण्टा दुई टन आलुका परिकार उत्पादन गर्ने र पछि दैनिक १५ घण्टा उद्योग चलाएर दैनिक ३० टन आलु परिकार उत्पादन गर्ने योजना रहेको पौडेलले बताउनुभयो । उहाँले उद्योग पूर्ण क्षमतामा सञ्चालन भएको अवस्थामा १५० जनाले प्रत्यक्ष रोजगारी पाउने जानकारी दिनुभयो । 

उद्योगका लागि आवश्यक मेसिन भारत, जर्मनी र टर्कीबाट ल्याइसकिएको उहाँले बताउनुभयो । उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थका रूपमा रहेको आलुका लागि गत वर्ष दुई सय टन बीउ ल्याएर रुपन्देही, नवलपरासी, चितवन, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, रोल्पा, बर्दिया, कैलाली, दाङ र पाल्पामा परीक्षण खेती गरिएको छ । 

सञ्चालक पौडेलले उद्योगका लागि आवश्यक पर्ने आलुको अभाव नहुने बताउनुभयो । पौडेलका अनुसार फ्रेन्च फ्राइजको माग नेपाली बजारमा धेरै नै रहेकाले बजारको समस्या छैन भने उत्पादन नहुँदै विदेशबाट पनि फ्रेन्च फ्राइजको माग आउन थालेको छ ।