• १२ मंसिर २०८१, बुधबार

अन्त्य गरिँदै ‘असारे विकास’

blog

दरबाङ समाचारदाता 

म्याग्दी (दरबाङ), फागुन २५ गते । भौगोलिक रूपमा विकट म्याग्दीको धवलागिरि गाउँपालिकाले चालू आर्थिक वर्षका विकास योजनाका कामलाई तीव्रता दिएको छ । असारे विकासलाई अन्त्य गर्ने लक्ष्यसहित गाउँपालिकाले चालू आर्थिक वर्षका भौतिक पूर्वाधार निर्माण र अन्य विकासका योजनालाई सम्झौता गरेर कार्यान्वयनमा लगेको हो । बजेट सक्नका लागि असारे विकासमा जोड दिने प्रथालाई निरुत्साहित गर्ने गाउँपालिकाले जोड दिएको छ । 

गाउँपालिकाले जनाएअनुसार चालू आर्थिक वर्षका समग्र योजनामध्ये ९५ प्रतिशतको सम्झौता सकेर निर्माणलाई तीव्रता दिइएको छ । चालू आर्थिक वर्षका १०५ वटा योजनामध्ये ९० को सम्झौता सकिएर कार्यान्वयनमा लगिएको छ । 

१० वटा योजना निर्माणको काम सम्पन्न भएर भुक्तानी भइसकेको छ । चारवटा योजना सम्झौताको क्रममा रहेका छन् । ठेक्का प्रणालीबाट काम गरिने चारवटा योजना ठेक्का लगाउने प्रक्रियाको अन्तिम चरणमा छन् । 

साना योजना पदमार्ग, कल्भर्ट निर्माणजस्ता योजना उपभोक्तामार्फत र सडक मर्मत, भवन निर्माणजस्ता ठूलो बजेटका योजना ठेक्कामार्फत सञ्चालन गर्ने गरिएका छन् ।

वडा नम्बर ३ स्थित दलित बस्तीदेखि सातमुलेसम्म मोटरबाटो मर्मत, वडा नम्बर ४ स्थित धवलागिरि दोभानदेखि जापानिज बेस क्याम्पसम्म पदमार्ग निर्माण, मुना–मुदी सडक मर्मत, सिवाङ–ताकम–काफलडाँडा हुँदै मालिका गाउँपालिका–५ को सिमानासम्म मोटरबाटो मर्मत, मराङ मोटरबाटो मर्मत, मराङ–मल्कबाङ मोटरबाटो मर्मतलगायत १० वटा सम्पन्न भएका योजनालाई भुक्तानी गरिएको गाउँपालिकाका योजना शाखा प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो । 

चालू आर्थिक वर्षका योजनालाई कार्यान्वयनका लागि वडास्तरमा उपभोक्ता समिति गठन गरी समितिका पदाधिकारीलाई योजना निर्माणसम्बन्धी प्रशिक्षणसमेत दिइएको थियो । चालू आर्थिक वर्षको साढे सात महिनामा विकासतर्फको पुँजीगत बजेट १८ प्रतिशत खर्च भएको छ । 

यस आर्थिक वर्षको साढे सात महिनामा कुल बजेटको ३० प्रतिशत बजेट खर्च भएको गाउँपालिकाका लेखा प्रमुख तिलक शङ्कर पौडेलले बताउनुभयो । चालू आर्थिक वर्षमा ४५ करोड ८१ लख ९१ हजार ८१० रुपियाँ बजेटमध्ये १३ करोड ९८ लाख ६९ हजार ७४० रुपियाँ खर्च भएको लेखा प्रमुख पौडेलले जानकारी दिनुभयो ।

आगामी चैत मसान्तभित्र सबै योजना सम्पन्न गर्ने लक्ष्यसहित असोजको पहिलो सातादेखि मल्कबाङ, ताकम, मराङ र मुदी वडामै पुगेर योजना सम्झौता गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवेशबहादुर चन्दले जानकारी दिनुभयो । 

योजना निर्माणलाई प्रभावकारी बनाउन छड्के र नियमित अनुगमन गर्ने गरेको उपाध्यक्ष रेशम पुनले बताउनुभयो । समयमै योजना कार्यान्वयन हुँदा असारे विकासलाई रोक्नुका साथै आगामी वर्षका योजना छनोट गर्न सहज हुने उहाँले बताउनुभयो । वडाका जनप्रतिनिधिले समेत आआफ्नो क्षेत्रमा भित्रिएको बजेटको सदुपयोग र कार्यान्वयनमा जुटेका छन् । यस वर्ष गाउँपालिकाले खानेपानी, सडक, गाउँपालिका भवन तथा वडा कार्यालय भवन निर्माण, स्वास्थ्य कार्यालय भवन, सडक निर्माण र मर्मतमा सबैभन्दा बढी बजेट लगानी गरेको छ । 

गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले जनताको आधारभूत आवश्यकतालाई प्राथमिकता दिएर योजना बनाएको बताउनुभयो । शिक्षा, स्वास्थ्य, खानेपानी, मोटरबाटो र पर्यटनलगायत क्षेत्रलाई प्राथमिकता दिएको उहाँले जानकारी दिनुभयो । 

“भौगोलिक कठिनाइ र सीमित बजेटका कारण एकै पटक सबै समस्या र मागलाई सम्बोधन गर्न सक्ने अवस्था छैन तर पनि जनताको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर योजना बनाउनुका साथै सोहीअनुसार बजेटको व्यवस्था गरेका छौँ,” उहाँले भन्नुभयो ।