• ११ मंसिर २०८१, मङ्गलबार

जीवन रक्षाका लागि कान्छी प्राध्यापकको अपिल

blog

काठमाडौँ, फागुन २४ गते । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर एक जना प्राध्यापकले जीवन रक्षाका लागि सार्वजनिक अपिल गर्नु भएको छ । स्तन, डिम्बाशय, पेट, कलेजो र फोक्सोको क्यान्सरलाई पछार्न सात वर्षदेखि उदाहरणीय आत्मबल र आफ्नै मिहिनेतको खर्चमा उपचाररत प्रा.डा. उर्मिला प्याकुरेलले अबको उपचार भने धान्न नसक्ने जनाउँदै सहयोगको अपिल गर्नुभएको हो । 

उहाँ क्यान्सर लागेकै अवस्थामा अध्ययन अनुसन्धानलाई अगाडि बढाएर ३५ वर्षको उमेरमा विद्यावारिधि (पिएचडी) सकी ४१ वर्षको उमेरमा गत वर्ष त्रिभुवन विश्वविद्यालयको केन्द्रीय गणित विभागमा सबैभन्दा कान्छी उमेरकी प्राध्यापक बन्नुभएको हो । ४२ वर्षीया प्याकुरेलले हालसम्मको उपचार खर्च अनुसन्धानबाटै जुटाएको बताउनु भयो ।

सिन्धुपाल्चोकको कालिका गाउँकी सामान्य परिवारकी प्राध्यापक प्याकुरेलले नेपाल र जर्मनीमा गरी हालसम्म उपचारमा साढे चार करोड रुपियाँभन्दा बढी खर्च भएको परिवार स्रोतले जनाएको छ । तर पनि पूर्णरुपले क्यान्सर ठिक नभएको र अबको अन्तिम विकल्प इम्युन थेरापी गर्नुपर्ने चिकित्सकको सुझाव अनुसार उक्त उपचार थालेको बताउनुभयो । उहाँले ६४ चरणको किमो थेरापी, रेडियो थेरापीलगायतका उपचार गरिसक्नु भएको छ ।

उक्त उपचार कम्तीमा पनि एक वर्षसम्म गर्नुपर्ने र एक चरणको उपचारका लागि २१ दिनमा करिब चार लाख रुपियाँ लाग्ने र अहिले अनुसन्धानका लागि फेलोसिपसमेत आफूले नपाएकाले भरसक अरूको सहयोग नलिने चाहना हुँदाहुँदै पनि बाध्य भएर सहयोगको याचना गर्नुपरेको बताउनुभयो । प्याकुरेलले महिलामा मात्र लाग्ने र निको हुने स्तन र पाठेघर तथा डिम्बाशयको क्यान्सरको पनि सुलभ उपचार नभएको गुनासो गर्नुभयो ।

उहाँले धेरै नेपाली युवा देश छाडेर पलायन भएको अवस्थामा देशभित्रै रहेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिन स्वदेशमा नै काम गर्ने निर्णयमा आफू पुगेको बताउनुभयो । उहाँको अनुसन्धान गणितको व्यावहारिक प्रयोगबाट नेपालमा बढ्दो ट्राफिक समस्या समाधानमा केन्द्रित छ । उहाँ मधुश्री नामबाट साहित्य रचना पनि गर्नुहुन्छ ।

उहाँको विद्यावारिधिका निर्देशक त्रिवि गणित केन्द्रीय विभागका अध्यक्ष प्रा. डा. टङ्कनाथ धमलाले प्रा. डा. प्याकुरेल एक उत्कृष्ट अनुसन्धाता रहेको र उहाँका कृति र अन्तर्राष्ट्रिय सञ्जाल निकै सफल रहेको बताउनुभयो । विद्यार्थीलाई सिकाउन र सधैँ अनुसन्धान गरी नयाँ कुरा पत्ता लगाउन उत्सुक र सक्षम रहने प्रा.प्याकुरेल अहिले पनि छ जना विद्यावारिधि र अरू स्नातकोत्तर तहका अनुसन्धानकर्ताहरूको शोध निर्देशक हुनुहुन्छ ।

सात वर्षदेखि क्यान्सरलाई जितिरहनु भएकी उहाँलाई डाक्टरको सल्लाह अनुसार अब अन्तिम विकल्प इम्युन थेरापी मात्र रहेको तर त्यो अत्यन्त महँगो भएकाले आफूहरू आर्थिक अवस्थाले निरीह बनेको बताउनुभयो । त्यसैले शुभचिन्तक र सहयोगी मनहरूमा यस दुःखमा साथ र सहयोगका लागि याचना गर्न बाध्य भएको उहाँले बताउनुभयो ।

उहाँलाई सहयोग गर्नका लागि काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ बैंकको उर्मिला प्याकुरेलका नाममा रहेको खाता नम्बर ०१७१५१६२७२१ मा रकम जम्मा गर्न सकिन्छ ।