• ११ मंसिर २०८१, मङ्गलबार

पालिकाले भुक्तानी नदिँदा बीमा सुविधाबाट वञ्चित

blog

नवीन शिशिर विक

बागलुङ, फागुन २४ गते । बागलुङको निसीखोला गाउँपालिकाले समयमै बीमा रकम भुक्तानी नगर्दा नागरिक स्वास्थ्य बीमा सुविधा लिन वञ्चित छन्। गाउँपालिकाका सबै नागरिकको स्वास्थ्य बीमामा सहभागी गराउने उद्देश्यले बीमा फर्म भरे पनि बीमा रकम भुक्तानी नगर्दा नागरिक अलमलमा परेका हुन्। 

गाउँपालिकाले पहिलो चरणको ६४ लाख रुपियाँ बीमा रकम भुक्तानी गर्न नसक्दा स्वास्थ्य बीमाको काम अगाडि बढ्न सकेको छैन। गत असारमा सम्पन्न दसौँ गाउँ सभाले पालिकाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको थियो। 

पाँच हजार चार सय घरधुरीका पालिकावासीको निःशुल्क बीमा गर्नका लागि राजस्व बाँडफाँटबाट दुई करोड रुपियाँ बजेट विनियोजन गरेको थियो। स्वास्थ्य बीमाका लागि पालिकाले पहिलो चरणमा नौ हजार १८५ जनाको विवरण सङ्कलन गरिसकेको छ। विवरण सङ्कलन सम्पन्न भएका नागरिकले फागुन १ गतेदेखि सेवा लिनुपर्नेमा बीमाको रकम भुक्तानी नहुँदा कार्यान्वयन भएको छैन। नागरिकको स्वास्थ्य बीमाको विवरण सङ्कलन गरे पनि पहिलो चरणमा ६४ लाख रुपियाँ बीमा रकम भुक्तानी गर्न नसक्दा कार्यान्वयनमा ढिलाइ भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताउनुभयो। “पहिलो चरणमा समावेश भएकाको बीमाङ्क ६४ लाख ४८ हजार रुपियाँ तिर्नका लागि फाइल लेखामा पठाइएको छ,” सूचना अधिकारी गौतमले भन्नुभयो, “भुक्तानी नभएकाले नागरिकले सुविधा लिन पाएनन्।” 

सङ्घ, प्रदेश र पालिकाको आन्तरिक स्रोतको राजस्व बाँडफाँटबाट बीमा गर्ने निर्णय गाउँ सभाले पारित गरेको थियो। भुक्तानी भएको तीन महिनाबाट नागरिकले स्वास्थ्य बीमाको सेवा लिन पाउँछन्। प्रदेश र सङ्घबाट आउने राजस्व बाँडफाँट शीर्षकमा बजेट राखिएकोमा बजेट प्राप्त नहुँदा कार्यान्वयनमा समस्या भएको गाउँपालिका अध्यक्ष सूर्य घर्तीले बताउनुभयो। 

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार चन्दले पहिलो चरणका परिवारको विवरण आए पनि विशेष विवरण नआएको प्रतिक्रिया दिनुभयो। चन्दले भन्नुभयो, “प्रदेश र सङ्घीय सरकारबाट थोरै बजेट प्राप्त भएको हुँदा योजनामा बाँडफाँट गर्न गाह्रो भएको हो।”