• ११ मंसिर २०८१, मङ्गलबार

नेपालमा पहिलो पटक दुईदिने ‘महिला स्वास्थ्य सम्मेलन’ हुने

blog

महिला स्वास्थ्य सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्बिर : सिर्जना खत्री

काठमाडौं, फागुन २३ गते । नेपालमा पहिलो पटक दुई दिने ‘महिला स्वास्थ्य सम्मेलन’ हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको अग्रसरतामा बुधबार र बिहीबार गरी दुईदिने ‘महिला स्वास्थ्य सम्मेलन’को आयोजना हुन लागेको हो । सम्मेलनमा महिला स्वास्थ्यको बहुआयामिक विषयवस्तुमा केन्द्रित रहनेछ महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सम्मेलनमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, नसर्ने रोग, बालबालिका, किशोरकिशोरी र ज्येष्ठ नागरिकको स्वास्थ्य, मानवीय सहायता आवश्यक पर्ने अवस्थामा महिला स्वास्थ्य र पोषण गरी पाँच विषयमा छलफल र प्रस्तुति हुनेछ । दुई दिने सम्मेलनमा करिब तीन सय प्रतिनिधिको सहभागिता हुनुका साथै कुल ८५ कार्यपत्र प्रस्तुत हुने कार्यक्रम छ ।

महाशाखाका निर्देशक डा.विवेककुमार लालले महिला स्वास्थ्यको क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेका सरकारी, गैह्र सरकारी संस्था, प्रतिष्ठान, शिक्षण संस्था लगायतका प्रतिनिधि एवम् विज्ञ व्यक्तित्वहरूको सहभागिता हुने जानकारी दिनुभयो ।

डा. लालका अनुसार महिला स्वास्थ्यका विभिन्न आयाममा हासिल सफलता, चुनौती एवम् अवसर, अन्वेषण विकसित घटनाक्रम र तथ्याङ्कहरूको लेखाजोखा गर्नु, महिला स्वास्थ्यको विषयलाई विस्तार गर्न र सशक्त तुल्याउन आवश्यक तत्वहरु अनुसन्धान, क्षमता अभिवृद्धि, नीति निर्माण र पैरवीबीचको अन्योन्याश्रित सम्बन्धलाई थप प्रगाढ तुल्याउन यस सम्मेलनको उद्देश्य छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले महिला स्वास्थ्य सम्मेलनले पोषणमा ध्यान दिन जोड पुग्ने बताउनुभयो । सम्मेलनले स्वास्थ्य क्षेत्रको निति निर्माणमा सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो ।