• ११ मंसिर २०८१, मङ्गलबार

म्याद गुज्रेका औषधि वितरणप्रति रेसुङ्गाको ध्यानाकर्षण

blog

स्वास्थ्य शिविरमा म्याद गुज्रेका औषधि वितरण । तस्बिर रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, फागुन २३ गते ।
चौराह हस्पिटल प्रालिको प्राविधिक सहयोगमा गुल्मीको तम्घासमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा म्याद गुज्रेका औषधि वितरण भएको पाइएपछि रेसुङ्गा नगरपालिकाले गम्भीर ध्यानाकर्षण जनाएको छ । फागुन २० गते रेसुङ्गा नगरपालिकाको आयोजना र चौराह हस्पिटल प्रालिको प्राविधिक सहयोगमा महेन्द्र माध्यमिक विद्यालयमा एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । शिविरबाट ६८९ जनाले सेवा लिएका थिए ।

निःशुल्क स्वास्थ्य शिविरको क्रममा मिरा बायोटिक कम्पनीद्वारा उत्पादित एमिजोय १० एमजीको स्याम्पल ट्याबलेटको म्याद सकिएको औषधि वितरण गरिएको पाइएको थियो । सोही घटनालाई लिएर रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले औषधि वितरणमा चौराह हस्पिटलको लापरबाही भएकोप्रति दुःख व्यक्त गर्नुभयो ।

“स्थानीय नागरिकहरुले आफ्नै ठाउँबाट गुणस्तरीय विशेषज्ञ सेवा पाउने उद्देश्यले शिविर सञ्चालन गरेका हौं ।” नगरप्रमुख पन्थीले भन्नुभयो, “पवित्र सोचले सञ्चालन गरिएको शिविरमा म्याद गुज्रिएका औषधि वितरण भएको घटनाप्रति नगरपालिकाको गम्भीर रूपमा ध्यानाकर्षण भएको छ ।”

म्याद गुज्रिएको औषधि वितरण गरेकोप्रति चौराह हस्पिटल प्रालिलाई आफूहरुले स्पष्टिकरण सोधेको सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी गराउनुभयो ।

स्वास्थ जस्तो संवेदनशील क्षेत्रमा नागरिकप्रति खेलवाड गर्ने सम्बन्धित औषधि कम्पनीलाई जवाफदेही बनाएको नगर प्रमुख पन्थीले बताउनुभयो । नगरप्रमुख पन्थीले घटना थाहा पाएलगत्तै वितरण गरिएका बिरामीबाट म्याद गुज्रिएका औषधि फिर्ता लिएको उहाँले बताउनुभयो । नगरपालिकाले सोधेको स्पष्टीकरणमा चौराह हस्पिटलले प्राविधिक कमजोरी देखाएको छ । प्राविधिक कमजोरीका कारण उपचारमा आउने केही बिरामीलाई उक्त औषधि वितरण भएको अस्पतालले स्वीकार गरेको छ ।

त्यस अस्पतालका जनसम्पर्क तथा सूचना अधिकृत जनक कुँवरले पठाएको स्पष्टीकरण पत्रमा भनिएको छ, “अस्पतालमा प्याकिङकाे क्रममा कर्मचारीले शिविरमा वितरण गरिने औषधिहरुको बाहिर बट्टा हेरेका थिए । प्रायजसो औषधिको बाहिरी बट्टामा म्याद गुज्रने मिति लेखिने गर्छ । तर यो औषधिको भने भित्री औषधिको पातामा लेखिएको हुँदा त्यो कमजोरी भई बिरामीलाई औषधि वितरण भएको कुरा जानकारी गराउँछौं ।” हस्पिटलले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेको छ । 

नगरप्रमुख पन्थीले अस्पतालको जवाफबाट भने आफू सन्तुष्ट नभएको बताउनुभयो । “चौराह हस्पिटलको कमजोरी भएको छ । घटना थाहा पाए लगत्तै फिल्डमा गएर म्याद गुज्रिएका औषधि फिर्ता लिएका छौं । यो घटना क्षमायोग्य छैन ।” नगरप्रमुख पन्थीले भन्नुभयो, “हस्पिटल र औषधि कम्पनीप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।”

म्याद गुज्रिएका १२ पाता औषधि फिर्ता गरिएको छ । उक्त औषधि सेवाग्राहीले सेवन नगरेको बताउँदै म्याद गुज्रिएको औषधि वितरण गर्ने हस्पिटलप्रति कारवाहीका लागि अगाडि बढेको बताउनुभयो । नियमनकारी निकायले पनि यसलाई गम्भीर रुपमा लिनुपर्ने उहाँको भनाइ छ ।