• ११ मंसिर २०८१, मङ्गलबार

स्वास्थ्य शिविरमा सात सयले लिए सेवा

blog

स्वास्थ्य शिविरमा सेवा लिदै स्थानीय नागरिक । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 

गुल्मी, फागुन २१ गते । गुल्मीको रेसुङ्गा नगरपालिकाद्वारा तम्घासमा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा करिब सात सय नागरिकले सेवा लिएका छन् । तम्घासमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा शनिबार सञ्चालित शिविरमा ३९४ महिला र २९५ पुरुष गरी कूल ६८९  जना नागरिकले स्वास्थ्य सेवा लिएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्ती मगरले जानकारी दिनुभयो । 

उहाँका अनुसार चौराहा हस्पिटल प्रालि र गुल्मी अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरमा १९२ जनाले हाडजोर्नी, ५६ जनाले न्यूरो मानसिक र ७१ जना नागरिकले स्त्रीरोगसम्बन्धी सेवा लिएका छन् । 

त्यस्तै, १९ जनाले बाल रोग, १९७ जनाले जनरल फिजिसियन, ३९ जनाले नाक कान घाँटीसम्बन्धी, दुई जनाले डेण्टल सेवा र ११३ जना नागरिकले छाला रोगसम्बन्धी सेवा लिएका स्वास्थ्य शाखा प्रमुख घर्ती मगरले जानकारी दिनुभयो । 

त्यस अवसरमा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले धेरै रोगका बिरामीलाई शिविरको माध्यमबाट विशेषज्ञ डाक्टरबाट एकै ठाउँमा सेवा गर्ने उद्देश्यले यो शिविर सञ्चालन गरिएको बताउनुभयो । नगरपालिकाले नागरिकको स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।