• १२ मंसिर २०८१, बुधबार

बाबु जेलमा, छोराछोरी बेसहारा

blog

ललित बसेल

सुर्खेत (सालकोट), फागुन २० गते । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–३, सालकोट तोक्माका अमर आलेमगरले मङ्सिर २० गते घाँटी रेटेर श्रीमती मीना आलेमगरको हत्या गरेका थिए। हत्यापछि श्रीमती मीनाको टाउको झोलामा बोकेर प्रहरीकोमा आत्मसमर्पण गर्न पुगेका थिए। अमर अहिले पुर्पक्षका लागि सुर्खेत कारागार छन्। यद्यपि उनका दुई छोराछोरी सहाराविहीन भएका छन्। आमाको हत्या, बाबु जेलमा भएपछि ११ वर्षीया छोरा दिनेश आले र आठ वर्षीया छोरी देविका आले सहाराविहीन बनेका हुन्। उनीहरू अहिले ७८ वर्षीय हजुरआमा भविसरा आलेको भरमा छन्। 

नजिकैको नेराप्रावि तोक्माका कक्षा ४ मा अध्ययनरत दिनेश र कक्षा ३ मा अध्ययनरत देविकाको जीवनयापनमा निकै समस्या देखिएको बताइन्छ। हजुरआमा भविसराले पाउने वृद्धभत्ताबाट उनीहरूको लालनपालन चलेको छ। हजुरआमा भविसरा पनि कान्छा छोरा–बुहारीकोमा बस्छन्। हजुरआमा भविसराले यी अवोध बालबालिकाको बिचल्ली भएकोमा दुःख मान्नु हुन्छ। काम कम सुन्ने भविसराले बालबालिकाको उच्च शिक्षा तथा लालनपालन गर्न धौधौ भएको बताउनुभयो। तीन/चार महिनाको फरकमा पाउने वृद्ध भत्ताबाट उनीहरूलाई लताकपडालगायत कापीकलम किनिदिने गरेको उहाँको भनाइ छ। 

विद्यालयमा दिनेश र देविकाको पढाइ पनि राम्रो छ। विद्यालयका शिक्षक गौरीकुमारी आचार्यले देविकालाई छात्रवृत्ति दिनेबाहेक अन्य कुनै सहयोग नभएको बताउनुभयो। उहाँले दुवै जनाको पढाइ राम्रो भएको बताउँदै बाबुआमा नभएपछि उनीहरूको पढाइ बीचमै रोकिने हो कि भन्ने चिन्ता बढेको जनाउनुभयो। आमाको हत्या र बाबु जेल गएपछि ती बालबालिकाको मनोअवस्थामा निकै फरक आएको उहाँको भनाइ छ। ती बालबालिकाको पढाइ तथा लालनपालनमा कुनै सहयोगी निकायको खाँचो रहेको उहाँले बताउनुभयो। 

दिनेश र देविकासहित हजुरआमा भविसरा अहिले कान्छी बुहारी मनिसराको बस्नुहुन्छ। मनिसरालाई पनि सबैको गर्जो टार्न गाह्रो छ। मनिसराका श्रीमान् वैदेशिक रोजगारमा हुनुहुन्छ। उहाँले अहिले आफ्ना दुई सन्तानसहित सासू भविसरा, दिनेश र देविका तथा साइँला जेठाजुका दुई सन्तान पनि पाल्नु परेको छ। सबै जनालाई एकै पटक पाल्नु पर्दा दिनेश र देविकाले उचित स्याहार तथा पढाइमा राम्रो वातावरण पाउन नसकेको उहाँले बताउनुभयो। 

उनीहरूको घर घटना भएदेखि बन्द छ। कोही पनि बस्दैनन्। बालबालिका पनि जाँदैनन्। मनिसराका अनुसार उक्त घरमा कोही नबस्दा सुनसान छ। घटनालगत्तै केही सङ्घसंस्थाले सामान्य राहत दिए पनि उनीहरूले अहिलेसम्म त्यस्तो कुनै ठूलो सहयोग पाउन सकेका छैनन्। बालबालिकालाई उचित लालनपालन र शिक्षादीक्षामा सहयोगको खाँचो छ। उनीहरूको अवस्थाको अनुगमन गर्न इन्सेक तथा मानव अधिकार रक्षक सञ्जालको टोली घरमै पुगेको थियो। 

इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले गरिबीका कारण बालबालिकाको उचित शिक्षा पाउने र सहज जीवनयापनमा समस्या भएको बताउनुभयो। 

उहाँले बालबालिकाको शिक्षादीक्षा र लालनपालनका लागि सहयोगी निकायहरूले पहल गर्नुपर्ने सुझाव दिनुभयो। मानव अधिकार रक्षक सञ्जालका प्रदेश अध्यक्ष पीताम्बर ढकालले स्थानीय सरकारले पनि जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको संरक्षण तथा राहतका कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो। 

यता पञ्चपुरी नगरपालिकका प्रमुख लालवीर भण्डारीले कार्यविधि बनाएर जोखिमपूर्ण बालबालिकाको उचित संरक्षण र स्याहारको योजना ल्याउन लागिएको बताउनुभयो। यद्यपि उनीहरूलाई नगरबाट अहिलेसम्म कुनै सहयोग नपाएको उहाँको भनाइ छ।