धनगढी समाचारदाता
धनगढी, फागुन २० गते । कैलालीस्थित मोहना पुल–अत्तरिया छ लेन सडक निर्माण भएको एक महिनामै भत्किन थालेको छ। दोस्रो प्याकेजअन्तर्गत गेटा क्षेत्रमा छ लेन सडक भत्कनुका साथै भासिन थालेको हो। पूर्व लेनको धनगढी एयरपोर्ट गेट, आरपी मिल क्षेत्रमा छ लेन सडक भत्किरहेको छ। यसैगरी गाडी हिँडेपछि धेरै ठाउँमा सडक भासिएको छ।
सडक निर्माण गर्दा रोलरले राम्ररी नदबाइएकाले सडक भत्कन र भासिन सुरु भएको स्थानीयको भनाइ छ। गोदावरी नगरपालिका–५, गेटाका व्यवसायी सुदीप रानाका अनुसार निर्माण कम्पनीको लापरबाहीका कारण एक वर्षमै सडक बिग्रिन थालेको हो। यो बाटो राम्ररी दबाइएको थिएन। सडक बिग्रेपछि दुर्घटनासमेत हुन थालेको छ। सडक भासिएका कारण पूर्वी लेनमा मोटरसाइकल चलाउन अप्ठ्यारो हुने गरेको छ। उहाँले भन्नुभयो, “सडक भत्किएका कारण मोटरसाइकल दुर्घटना बढ्दै गएको छ। सडक एक लेनको हुँदा पनि यस्तो दुर्घटना भएको थिएन।”
गत वर्ष निर्माण सम्पन्न भएको यो सडक अहिलेसम्म हस्तान्तरण भएको छैन। हस्तान्तरण नहुँदै सडक भत्कन र भासिन सुरु भएपछि बिग्रेको सडक ठेकेदारले बनाउनुपर्ने स्थानीयको माग छ। निर्माण गर्ने पक्षको कमीकमजोरीका कारण सडक चाँडै बिग्रेको भन्दै गोदावरी नगरपालिका–५, गेटीका दानसिंह बोहराले निर्माण कम्पनीले फेरि बाटो बनाउनुपर्ने जिकिर गर्नुभयो। उहाँले भन्नुभयो, “यो ठेकेदारको लापरबाही हो। सडक निर्माण गर्ने कम्पनीले फेरि बनाउनुपर्छ।”
छ लेन सडकको निर्माण २०७४ सालबाट अगाडि बढेको थियो। १४.२ किलोमिटरको यो सडक तीन खण्डमा विभाजन गरेर बनाइएको हो। दोस्रो खण्डको पूर्वी लेनमा सडक बिग्रिरहेको छ। यो खण्डमा लुम्बिनी–राजेन्द्र–डाँफेले ठेक्का पाए पनि निर्माणको काम राजेन्द्र निर्माण सेवाले गरेको हाल छ लेन सडक हेरिरहेको महाकाली चार लेन पुल आयोजना कार्यालयले जानकारी दिएको छ। सडकमा अत्यधिक भार बोकेको गाडी कुदाउँदा त्यस्तो भएको दाबी निर्माण कम्पनीको छ। अरू लेनमा नभई एउटै लेनमा सडक बिग्रिन थालेको देखिएकाले अत्यधिक भार बोकेको गाडी कुदाउँदा यस्तो भएको निर्माण कम्पनीले जनाएको छ।
बाहिरबाट सामान बोकेर आउने गाडीहरू पूर्वी लेनबाट धनगढी प्रवेश गर्ने गरेका छन्। त्यसैले त्यही लेनमा बाटो बिग्रेको आयोजनाको ठहर छ। बढी भारयुक्त गाडी प्रवेशमा ट्राफिक प्रहरीले कडाइ गर्नुपर्ने निर्माण कम्पनीले जनाएको छ।
कुनै पनि आयोजना सम्पन्न भइसकेपछि एक वर्षसम्म मर्मतसम्भारको अवधि रहने गर्छ। बिग्रेभत्केको सबै निर्माण कम्पनीले नै बनाउनुपर्छ। छ लेन सडकको मर्मतसम्भार अवधि पनि आउँदो असोजसम्म रहेकाले बिग्रेको सडकलाई राजेन्द्र निर्माण सेवाले बनाउने बताइन्छ। फागुन मसान्त वा चैतबाट मर्मतको काम थाल्ने निर्माण कम्पनीले जनाएको छ।
मर्मत पूरा भएपछि आउँदो असोजमा निर्माण कम्पनीले सडक डिभिजन कार्यालय महेन्द्रनगरलाई मोहना पुल–अत्तरिया छ लेन सडक हस्तान्तरण गर्ने जनाइएको छ।
करिब एक अर्ब ६५ करोड रुपियाँको लागतमा यो सडक बनाइएको हो। यसअन्तर्गत पर्ने खोलामा पुल र बाटो काट्न ओभरहेड पुल बनाउन अझै बाँकी छ। पहिलो प्याकेजअन्तर्गत तीनवटा र अर्को प्याकेजमा थप तीनवटा गरी छवटा ओभरहेड पुल बन्ने जनाइएको छ।