• १२ मंसिर २०८१, बुधबार

अलपत्र कृषि बजार

blog

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), फागु्न २० गते । प्रदेश सरकारको करिब ६५ लाख रुपियाँ लगानीमा निर्माण गरिएको घोडाघोडी नगर कृषि हाटबजार स्थल दुई वर्षदेखि प्रयोगविहीन बनेको छ। घोडाघोडी नगरपालिका–१, सुखड नजिक निर्मित कृषि बजारमा ताला लगाएर राखिएको छ। 

करिब पाँच कट्ठा क्षेत्रफलमा निर्माण गरिएको कृषि बजार पायक पर्ने ठाउँमा नभएकाले प्रयोगमा आउन नसकेको स्थानीय व्यापारी बताउँछन्। अहिले बजारचाहिँ बजारनजिकैको खुला ठाउँमा लाग्दै आएको छ। राज्यको लगानी उपयोगमा आउन नसकेकोमा स्थानीयवासीले दुःखेसो गरेका छन्। स्थानीय शान्ति चौधरीले भन्नुभयो, “पायक पर्ने ठाउँमा हाटबजार बनाइएको भए खुला ठाउँमा बसेर आफ्नो उत्पादन बेच्न बाध्य हुने थिएनौँ। अब गर्मी सुरु भयो, खुला ठाउँमा बेच्न बाध्य छौँ।”

बजार समितिका सचिव होम तामाङका अनुसार २०७६/७७ मा कृषि ज्ञान केन्द्रमार्फत आएको सहयोग अनुदानमा स्थानीय रूपमा निर्माण समिति गठन गरी घोडाघोडी नगर कृषि बजारका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको हो। हाल हाटबजार लाग्ने गरेको स्थान हेलिप्याड नजिकै  खानेपानी र घोडाघोडी क्याम्पस जोडिएको जग्गामा निर्माण गर्ने भनिए पनि जग्गा विवादका कारण निर्माण कार्य अन्यत्र सार्नु परेको बताइन्छ।

स्थानीय समाजसेवी रणबहादुर बोहराले जग्गा उपलब्ध गराएपछि बजारदेखि केहीभित्र हाटबजार स्थल निर्माण गरिएको जानकारी दिनुभयो। स्थानीय लक्ष्मीप्रसाद भट्टराईले नम्बरी र ऐलानी जग्गामा बनेको हाटबजार भवन सरकारले स्वामित्वमा नलिँदा अलपत्र अवस्थामा रहेको बताउनुभयो। कृषि बजार बनेको लामो समय बित्दा पनि सञ्चालनमा आउन नसक्नु पायक पर्ने ठाउँमा नभएर हुनसक्ने भट्टराईको भनाइ छ। उहाँले उक्त ठाउँलाई गोदामका रूपमा प्रयोग गरेर किसानका उत्पादनलाई स्टोर गर्न प्रयोगमा ल्याउनेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो।

सुखड बजारबाट डेढ किलोमिटर भित्र हाटबजार बनाइएको छ। कृषि उपज सङ्कलन तथा बेचबिखनका लागि अपायक भए पनि अन्य कार्यका लागि प्रयोगमा ल्याउन नसक्नु सरकारको कमजोरी रहेको घोडाघोडी नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दुर्गाप्रसाद गौतमले बताउनभयो।  उहाँले भन्नुभयो, “कृषि बजारको व्यवस्थापन नहुँदा किसानले उत्पादन गरेका वस्तु टोकरीमा बोकेर डुलाउँदै हिँड्नुपर्ने बाध्यता थियो। हामीले हाटबजार खुला ठाउँमा भए पनि राख्ने व्यवस्था गरेपछि हप्तामा दुई दिन किसानले आफूले उत्पादन गरेको कृषि उपज बेच्न सजिलो भएको छ।”

आव २०७५/७६ मा कृषि ज्ञान केन्द्र महेन्द्रनगरबाट ५० लाख अनुदान र २०७६/७७ मा कृषि ज्ञान केन्द्र कैलालीबाट १५ लाख रुपियाँ अनुदानमा पाँच कट्ठा जमिनमा पर्खालसहित कृषि बजारका लागि भौतिक संरचना बनाइएको हो।

कृषि ज्ञान केन्द्र धनगढीका प्रमुख खगेन्द्र शर्माले सरकारको लगानी सदुपयोग हुनुपर्नेमा जोड दिँदै प्रदेश सरकारको सहयोगमा बजार निर्माण भए पनि त्यसको सञ्चालन र रेखदेखको जिम्मा स्थानीय सरकारको भएको बताउनुभयो।

घोडाघोडी कृषि शाखाका प्रमुख जनक धामीले कृषि बजार निर्माण भएको जानकारी भए पनि आधिकारिक रूपमा निर्माण सम्पन्नपछि हस्तान्तरण नभएका कारण नगरपालिकाले स्वामित्वमा नलिएको बताउनुभयो।