पुष्कर भण्डारी
डडेल्धुरा, फागुन २० गते । अजयमेरु गाउँपालिका–२, हाँटकोट भन्ने स्थानमा बहुचर्चित अजयमेरुकोट छ । जिल्ला सदरमुकाम खलङ्गाबाट पश्चिमतिर आधा घण्टाको कच्ची सडकको यात्रा अथवा करिब दुई घण्टा पैदल बाटो हिँडेपछि प्राचीन स्थलका रूपमा अजयमेरुकोट देखिन्छ । यसलाई रणथम्मकोट तथा हाँटकोटको नामले पनि चिनिन्छ ।
बाइसे राज्यकालीन डोटी राज्यको राजधानी अजयमेरुकोटमा प्राचीन कलाको उत्कृष्ट संयोजनबाट निर्मित दरबार छ । देवल, पानीका नाउला, घोडा तबेला, बैठक कक्ष, पोखरीलगायत वास्तुकलाको आकर्षणसमेत देख्न सकिन्छ ।
इतिहासको पाटोबाट हेर्दा अजयमेरुकोटको स्थापना कसले ग¥यो भन्ने आधिकारिक दस्तावेज भेटाउन सकिएको छैन । एकथरी भनाइअनुसार कत्युरी राजवंशका राजा अजयपालदेवले ११औँ शताब्दीको सुरुवाततिर यो दरबारको स्थापना गर्नुभएको थियो । अजयपालको नामबाट नै अजयमेरुकोटको नामकरण भएको हो । अजयमेरुकोटको नामकरणको तथ्यलाई डोटी खोलाको अभिलेखले पनि प्रमाणित गर्छ ।
अर्काेतिर स्थानीय गोरख सेठीको डायरीमा अजयमेरुकोटका प्रथम राजा रञ्जना पालले कोटको स्थापना १३औँ शताब्दीमा गरेको उल्लेख छ । अजयमेरुकोटको स्थापना १३औँ शताब्दीको उत्तराद्र्धमा कत्युरी वंशका दुई भाइ राजकुमार सहस्त्रपाल र निरयपालदेवले वि.सं. १४१९ भन्दा पहिले नै सिञ्जा राज्यसँग लडाइँ गरी जितेर स्वतन्त्र राज्य घोषणा गरेर कोटको स्थापना गरेको उल्लेख छ ।
यस कोटलाई राजा नागी मल्लद्वारा निर्माण गरिएको कोट पनि भन्ने गरेको पाइन्छ । यद्यपि यो कोट कत्युरी वंशजका पाल राजाले नै निर्माण गरेको प्रमाण भेटिन्छन् । रैका राजवंशका नागी मल्लले वि.सं. १४४१ मा अजयमेरुलाई कब्जा गरेपछि मात्रै अजयमेरुकोट नागी मल्लको कोटका रूपमा चिनिने गएको हो । यस ठाउँमा राजा निरयपालदेवका ताम्रपत्र र वि.सं. १४१९ सम्मका शिलालेखहरू पाइन्छन् ।
वि.सं. १४१९ सम्म अजयमेरुकोट कत्युरी राजवंशका पाल राजाको डोटी क्षेत्रको कोट (दरबार) मानिन्थ्यो । वि.सं. १४४१ को अभिलेख रैका राजवंशका नाग मल्लको भेटिएका कारण वि.सं. १४४१ पछि नागी (नाग) मल्लको कोट अजयमेरु भनियो । वि.सं. १४१९ देखि १४४१ को अवधि (२२ वर्षसम्म) यस कोट वरपर कुनै प्रमाण नभेटिएका कारण यसबीचको अवधिमा कत्युरी पाल र रैकाका बीचमा युद्ध भएको अवधि मान्न सकिन्छ ।
अजयमेरुकोटमा प्राचीन दरबारको भग्नावशेष, नाउला, देवल, वीरखम्ब, कलात्मक सिलिङ, राजाको बैठकस्थलसहितका ऐतिहासिक वस्तु छरिएर रहेका छन् । हाल अजयमेरुमा रहेका तीन नाउलामध्ये दुई नाउला भग्न अवस्थामा छन् । एक नाउला पानी खान प्रयोग भइरहेको छ । ढुङ्गे देवल र नाउलामा कुँदिएका कलात्मक मूर्तीले प्राचीन वास्तुकला झल्काउँछ ।
अजमेरुकोटको मुख्य दरबार भएको स्थानको डाँडालाई सर्पले बेरेजस्तै गरेर गाड (खोला)ले घेरेको छ । तल गाडदेखि माथि कोट भएको स्थानमा पुग्न १५–२० मिनेट उकालो उक्लनुपर्छ । यस कोट भएको डाँडामाथि दरबार र राजाका भाइभारदारको बस्ने हवेली भग्नावशेषका रूपमा देखिन्छन् ।
दरबारको संरचना सबै भत्केको अवस्थामा छ । बन्ने बेलामा मुख्य दरबार साततलाको बनेको थियो । यसको सबैभन्दा माथिल्लो तलाबाट उत्तराखण्डमा कत्युरी राजाबाट निर्माण गरिएको कत्युरी राजवंशको कुलदेवी जगदम्बा भगवतीको मन्दिरको दर्शन गर्ने र जल चढाउने गरिन्थ्यो ।
यही छेउतिर राजाका घोडा बाँध्ने स्थान छ । यसलाई स्थानीयवासी ‘घोलिडाँस’ (घोडाको तबेला) भन्ने गर्छन् । यस दरबारस्थलको पूर्व–दक्षिणबाट तल गाड (खोला) भएको स्थानसम्म रानीले पानी भर्न र नुहाउन जाने जमिनभित्रबाट कोरेर ढुङ्गाले चिनेर माथिबाट बन्द भएको कोटदेखि गाडसम्म जाँदा अँध्यारो नहोस् भन्ने उद्देश्यले बनाएका २५ वटा झ्यालसहितको प्राचीन गुफा छन् ।
कोटस्थलदेखि तल गाडको किनारमा दरबारका मान्छेको बैठक स्थल छ । यसलाई स्थानीयवासी ‘ओखडेकी माँडौ’ भन्छन् । गाडको केहीमाथि चेतराम नाथको घरनजिक दुईवटा देवल छन् । चेतराम नाथको घर तल वैलवाटा भन्ने खेतको नाम करपुटार खेत हो । यसै करपुटार खेतको सिरानमा पानी खाने तीनवटा प्राचीन नाउला छन् ।
यो स्थल ऐतिहासिक मल्लकालको दरबार अवलोकनका लागि प्रसिद्ध छ । यहाँ पुरातात्त्विक उत्खनन र अध्ययनका लागि पनि विज्ञहरू आउँछन् । यस स्थलमा वार्षिक सरदर आठ–नौ हजार मानिसले भ्रमण गर्छन् । यस कोटको खास विशेषतामध्ये विशाल चट्टानमाथि करिब पाँच रोपनीको थुम्कोमा रहेको किल्लाको अवशेष तीनतिर मजारगाड (खोला)ले घेरिएको मध्यकालीन किल्ला र वास्तुकलाको महत्त्वपूर्ण रूप नै हो ।