काठमाडौँ, फागुन २० गते । वार्षिक दुई हजार चिकित्सक (डाक्टर) उत्पादन हुने नेपालमा विशेषज्ञता हासिल गरेका चिकित्सकको सङ्ख्या भने बल्ल १० हजार पुगेको छ। नेपाल मेडिकल काउन्सिलमा हालसम्म १० हजार ८० जना विशेषज्ञ चिकित्सक दर्ता भएका छन्। काउन्सिलमा दर्ता भएका कुल चिकित्सकको सङ्ख्या भने ३२ हजार २१८ पुगेको छ।
काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइरालाले नेपालमा विशेषज्ञता हासिल गरेका डाक्टर १० हजार नाघेको जानकारी दिनुभयो। नेपालमा हालसम्म ३२ हजार २१८ जना डाक्टर दर्ता भएको जानकारी दिँदै उहाँले तीमध्ये १० हजार ८० जनाले विशेषज्ञ डाक्टरका रूपमा उपाधि प्राप्त गरेको बताउनुभयो। विशेषज्ञ डाक्टरमध्ये सात हजार ११० जना पुरुष र दुई हजार ९७० जना महिला रहेका छन्।
काउन्सिलका प्रवक्ता तथा रजिस्ट्रार डा. कृष्ण अधिकारीले सबैभन्दा बढी विशेषज्ञ डाक्टर दर्ता भएकामध्ये ‘इन्टरनल मेडिसिन’मा एक हजार ८८ जना रहेको बताउनुभयो। प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ९९४, जनरल सर्जन ९४७, अर्थोपेडिक्स ८०५, बालरोग विशेषज्ञ ७८१, जनरल प्राक्टिस ४५१ र रेडियोलोजी एन्ड इमेजिङमा ६६३ जनाले विशेषज्ञता हासिल गरेको उहाँले जानकारी दिनुभयो।
हालसम्म ३२ हजार २१८ जना चिकित्सक दर्ता भएका मध्ये १० हजार ८० जनाले विशेषज्ञ चिकित्सकको उपाधि प्राप्त गरेका छन् ।
प्रवक्ता डा. अधिकारीका अनुसार मधुमेह तथा हर्मोन रोग विशेषज्ञमा २८ जना विशेषज्ञ डाक्टर रहेका छन्। यस्तै मुटुरोगमा १२६ रहेका छन् भने पेडियाट्रिक्स कार्डियोलोजीमा एक जना मात्र विशेषज्ञ डाक्टर हुनुहुन्छ। त्यस्तै क्लिनिकल जेनेटिक्समा दुई, क्रिटिकल केयर मेडिसिनमा दुई, फिजिकल मेडिसिन एन्ड रिह्याबिलिटेसनमा तीन, यास्ट्रोइन्टेरेलोजीमा भने ४५ विशेषज्ञ चिकित्सक रहेका छन्।
डा. अधिकारीका अनुसार हेमाटोलोजी (रक्तसम्बन्धी)मा तीन, कलेजो रोगमा एक, मिर्गौला (नेफ्रोलोजी)मा २६ जना विशेषज्ञ चिकित्सक रहेका छन्। बाथरोग विशेषज्ञमा सात, श्वासप्रश्वास तथा क्षयरोग विशेषज्ञमा ३१, ट्रान्सफ्युजन मेडिसिन एन्ड टिस्यु टाइपिङ तीन, सरुवा रोग (ट्रपिकल मेडिसिन) एक, फ्यामेली मेडिसिन एक, पल्मोनोलोजी दुई, प्यालिटिभ मेडिसिन एक, कार्डियाक सर्जरी सात, ग्यास्ट्रो सर्जरी दुई, हेपाटोबिलरी सर्जरी छ, न्युरो सर्जरी ५९, पेडियाट्रिक सर्जरी १९ र प्लास्टिक सर्जरीमा १३ जना विशेषज्ञ चिकित्सक रहेका छन्।
मुटुरोगमा १२६ जना छन् भने पेडियाट्रिक्स कार्डियोलोजीमा एक जना मात्र विशेषज्ञ डाक्टर छन् ।
डर्माटोलोजी एन्ड भेनेरोलोजी (छाला तथा यौन) ३३९, नाक, कान, घाँटी ३२८, इमर्जेन्सी मेडिसिन ११, जेरियाट्रिक मेडिसिन (ज्येष्ठ नागरिक) पाँच, नियोन्याटोलोजी (नवजात शिशु) आठ, न्युक्लियर मेडिसिन १६, अङ्कोलोजी (क्यान्सर) ११ जना चिकित्सक रहेका छन्। यस्तै अप्थाल्मोलोजी (आँखा) रोग विशेषज्ञ ४६३, अर्थोपेडिक्स (हाडजोर्नी) ८०५, पेडियाट्रिक्स (बालरोग) ७८१, पेडियाट्रिक हेमाटो अङ्कोलोजी एक र पेडियाट्रिक नेफ्रोलोजी एक जना रहेका छन्।
साइक्याट्रिक (मानसिक) रोग विशेषज्ञ २४४, रेडियोथेरापी २९, रेडियोलोजी एन्ड इमेजिङ ६६३, पेडियाट्रिक हेमाटोलोजी एक, पेडियाट्रिक ग्यास्ट्रोइन्टेरोलोजी तीन जना विशेषज्ञ डाक्टर रहेको जानकारी अधिकारीले दिनुभयो। यस्तै सर्जिकल अङ्कोलोजी २१, युरोलोजी ५५, कोलोरेक्टल सर्जरी एक, थोरासिक सर्जरी एक, एनेस्थेसियोलोजी ६७७ जना रहेका छन् भने एनाटोमी ६१, बायोकेमेस्ट्री ६०, कम्युनिटी मेडिसिन एन्ड पब्लिक हेल्थ १९०, फरेन्सिक मेडिसिन ५३, हस्पिटल एड्मिनिस्ट्रेसन चार, माइक्रोबायोलोजी ७५, प्याथोलोजी ३६२, फर्माकोलोजी ८०, फिजियोलोजी ७२ जना रहेका छन्।
यसैगरी दन्तरोग विशेषज्ञमा एमडीएस २३१ जना, कम्युनिटी डेन्टिस्ट्री छ जना, कन्जरभेटिभ डेन्टिस्ट्री एन्ड इन्डोडोन्टिस ६६ जना, ओरल एन्ड म्याक्जिलोफेसियल सर्जरी ८८, ओरल मेडिसिन एन्ड रेडियोलोजी १२ जना विशेषज्ञ रहेका छन्। यस्तै ओरल प्याथोलोजी १५, ओरल साइन्स दुई, अर्थोडोन्टिस १३२, पेडोडोन्टिस ३३, पेरियोडोन्टिस ५८, प्रस्थोन्डटिक्स ९१, पब्लिक हेल्थ डेन्टिस्ट्री छ र फरेन्सिक ओडोन्टोलोजी एक जना रहेका छन्।