• ६ जेठ २०८१, आइतबार

मोलुङ हाइड्रोपावरको आइपीओ बाँडफाँट

blog

शेरबहादुर राई

ओखलढुङ्गा, फागुन १९ गते । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले शुक्रबार आइपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले चारदेखि १० फागुनसम्म सर्वसाधारणका लागि २२ लाख ६४ हजार ६५५ कित्ता साधारण शेयर निष्काशन गरेको थियो । उक्त आइपीओमा कुल १४ लाख २४ हजार ३५१ जनाले कुल एक करोड ५५ लाख ७९ हजार ८०० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये १४ लाख १७ हजार ३४६ आवेदन स्वीकृत भएको र ७ हजार ५ आवेदन रद्द भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

आइपीओमा मागभन्दा बढी आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा आइपीओ बाँडफाँट भएको छ । जसअनुसार दुई लाख २६ हजार ४६५ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । १० कित्ताको दरले बाँडफाँट गर्दा बाँकी सेयर कित्ता १० कित्ता शेयर पाउने पाँच जनाले थप एक कित्ता अर्थात् कुल ११ कित्ताका दरले प्राप्त गरेका छन् ।

आइपीओको नतिजा बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट सीडीएससीको मेरो शेयरको वेबसाइट र सीडीएसले आइपीओका लागि सञ्चालन गरेको वेबसाइटबाट हेर्न सकिनेछ । मेरो शेयरको वेबसाइटबाट आफुले आइपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिनेछ ।

कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई आइपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा सात मेगावाटको मोलुङखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७४ चैत १२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आइरहेको छ ।