सिराज खान
नेपालगञ्ज, फागुन १७ गते । पश्चिम नेपालमै सबैभन्दा बढी उडान हुने र अत्यधिक व्यस्त रहने नेपालगञ्ज विमानस्थलको स्तरोन्नति गर्ने कार्य अगाडि बढाइएको छ ।
सो विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन २० वर्षे गुरुयोजना तयार पारेर सोहीअनुसार काम सुरु भएको हो ।
उक्त गुरुयोजनाअनुसार नयाँ अत्याधुनिक टर्मिनल भवनको निर्माण सुरु गरिएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका सूचना अधिकारी धीरेन्द्र रिजालले जानकारी दिनुभयो । उहाँले काम सुरु गरिए पनि सो टर्मिनल भवनको औपचारिक रूपमा शिलान्यास छिट्टै गरिने बताउनुभयो ।
नागरिक उड्डयन कार्यालय नेपालगञ्जका अनुसार नयाँ टर्मिनल भवन निर्माणका लागि शर्मा कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको र अनौपचारिक रूपमा कामसमेत सुरु गरिसकेको छ । तीन अर्ब रुपियाँको लागतमा तीन वर्षको अवधिमा टर्मिनल भवनको निर्माण पूरा गर्ने गरी शर्मा कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको हो ।
सो टर्मिनल भवन करिब आठ हजार वर्गफिटमा तयार गरिनेछ । सो टर्मिनल भवनलाई आधुनिक मापदण्डअनुसार भन्सार, क्वारेन्टाइन र अध्यागमन कार्यालयसहित आन्तरिक र अन्तर्राष्ट्रिय दुवै किसिमका उडानका लागि निर्माण गरिनेछ । हाल दैनिक ५० देखि ६० वटा उडान हुने गरेको विमानस्थलको करिब ५० वर्ष पुरानो टर्मिनल भवन हालमा आएर निकै सानो तथा जीर्ण भइसकेकाले नयाँ टर्मिनल भवनको आवश्यकता बढ्दै गएको हो ।
निर्माण पूरा भएपछि नेपालगञ्ज–दिल्ली र नेपालगञ्ज–लखनउ उडान गर्न सहज हुने पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । हाल एटीआर विमान उडान अवतरण गर्न मिल्ने उक्त विमानस्थलमा गुरुयोजनाअनुसार काम भए आगामी दुई दशकभित्र ठूला विमान पनि उडान र अवतरण गर्न मिल्ने नागरिक उड्डयन कार्यालयले जनाएको छ । गुरुयोजनाअनुसार नेपालगञ्ज विमानस्थलको रनवे ‘थ्री सी वर्ग’ अर्थात् एक हजार ५२४ मिटरबाट वृद्धि गरी ‘फोर सी वर्ग’मा दुई हजार ४४५ मिटर लामो बनाइनेछ । त्यसो गर्दा एयर बस ३२० एनईओ मोडेलका ठूला विमान सहजै उडान गर्न सकिने विमानस्थल तयार हुनेछ ।
हाल १६६ बिघा क्षेत्रफल रहेको विमानस्थलका लागि थप एक सय बिघा जग्गा अधिग्रहण गरेपछि मात्र प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा पर्याप्त हुने भएको छ । योजनाअनुसार विमानस्थलको निर्माण चार चरणमा पूरा गरिनेछ । पहिलो चरणमा रनवे विस्तार, टर्मिनल भवनलगायतका काम गरिनेछ भने दोस्रो चरणमा विमानस्थल विस्तारदेखि पूर्वाधार निर्माणसम्मका योजना समेटिएका छन् । तेस्रो र चौथो चरणको कामले नेपालगञ्ज विमानस्थल अन्तर्राष्ट्रियस्तरको बन्नेछ ।