• १३ मंसिर २०८१, बिहिबार

हस्तकलाका सामग्रीबाट आम्दानी गर्दै महिला

blog

लीलाधर वली 

घोराही, फागुन १६ गते । सधैँ घरको काममा व्यस्त हुने राप्ती गाउँपालिका–७, सिसहनियाकी राजकुमारी चौधरीको दैनिकी पछिल्लो समयमा बदलिएको छ । घरको भान्छादेखि गाईभैँसीको स्याहारमा बित्ने गरेको राजकुमारीको दैनिकी पछिल्लो समय गुन्द्री, पूजादानी, टोपी, हटकेस, पेनहोल्डर, खुत्रुके, ढकिया, चटकी र गमलालगायतका सामग्री बनाउने र बिक्री गर्ने काममा बित्ने गरेको छ । 

दुई वर्षअघि समूह गठन गरेर सीप सिकेका राजकुमारीलगायतका थारू समुदायका महिला परम्परागत सीप संरक्षणसँगै आम्दानी वृद्धिमा लागेका छन् । आफूहरूले बनाएका सामग्री लामो समय काठमाडौँ र पोखरालगायतका ठाउँमा पठाउने गरेका यी महिलाले पछिल्लो समय आसपासका ठाउँमा लाग्ने मेला महोत्सवमा बिक्री गर्ने गरेको लगनशील मुन्स उत्पादन समूहकी उपाध्यक्षसमेत रहनुभएकी राजकुमारीले बताउनुभयो । 

“पहिले घरमा हस्तकलाका सामग्री उत्पादन गरेर काठमाडौँ पठाउँथ्यौँ । बाहिर मात्रै पठाउनुभन्दा आफैँ बिक्री गरौँ भनेर पछिल्लो समय मेला महोत्सवमा लगेर बिक्री गर्दै आएका छौँ,” उहाँले भन्नुभयो । 

पहिले घरको काम गरेर दिनभरि खेर जाने समय सीप सिकेर हस्तकलाका सामग्री बनाउन थालेपछि समयको उपयोगसँगै आम्दानी हुने गरेको समूहकी सदस्य रीता चौधरीले बताउनुभयो । उहाँका अनुसार गाउँका ३० जना महिलाको समूहले विगत दुई वर्षदेखि सङ्गठित रूपमा हस्तकलाका सामग्री उत्पादन गर्दै आएका छन् । “घरको काम हँुदा घरको काम गर्छौं, फुर्सदको समयमा काँस र मुञ्जबाट हस्तकलाका सामग्री बनाउँछौँ,” समूहकी सदस्य रीताले भन्नुभयो ।  यी महिलाले हस्तकलाका सामग्री उत्पादनका लागि आवश्यक सामग्री देउखुरीको राप्ती नदीबाट सङ्कलन गर्दै आएका छन् । अपुग कच्चा पदार्थ कपिलवस्तुबाट ल्याउने गरेका छन् ।  

हस्तकलाका सामग्री धेरैले मन पराउने गरे पनि अन्य सामग्रीको तुलनामा महँगो भन्ने गरेको उपाध्यक्ष राजकुमारी बताउनुभयो । उपाध्यक्ष राजकुमारीले भन्नुभयो, “हस्तकलाका सामग्री बनाउँदा लागेको मेहनतअनुसार मूल्य महँगो होइन तर बजारमा पाइने प्लास्टिकका सामग्रीको मूल्यभन्दा केही महँगो भने हो ।” हस्ताकलाका सामग्री आकर्षक, बलिया र हलुका हुने भएकाले धेरैको रोजाइमा पर्ने गरेको बताउनुहुन्छ ।

सिसहनियाका राजकुमारी र रीताजस्तै राप्ती र गढवा गाउँपालिकाका ९० महिला तीनवटा समूह बनाएर हस्तकलाका सामग्री उत्पादनमा लागेका छन् । उहाँहरूलाई तालिमदेखि उत्पादित सामग्रीको बजारीकरणका लागि स्वच्छ व्यवसायी समूह नेपाल र स्वान नेपालले सहयोग गर्दै आएको छ । 

लगनशील मुन्स उत्पादन समूहसँगै राप्ती गाउँपालिका–६ मै मिलिजुली मुञ्ज उत्पादन समूह र गढवा गाउँपालिकामा थारू समुदायका महिलाको मनकामना मुञ्ज उत्पादन समूह गठन गरेर व्यावसायिक रूपमा हस्तकलाका सामग्री उत्पादनमा महिला लागेका छन् ।