• १३ साउन २०८१, आइतबार

भण्डारीलाई मुखबाट खाना खुवाउन सुरु गरिने

blog

नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारी । फाइल तस्बिर

काठमाडौं, फागुन १० गते । एलपीजी ग्यास सिलिण्डरबाट ग्यास चुहेर आगलागी हुँदा घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई मुखबाट खाना खुवाउन सुरु गरिएको छ । 

उपचार समन्वयमा सँगै रहनु भएका कांग्रेस नेता योगराज कँडेलले  हिजो (मंगलबार) सम्म पाइपबाट खुवाउने गरेकोमा आज (बुधबार) बाट मुखबाट खाना खुवाउन सुरु गरिने जानकारी दिनुभयो । नेता भण्डारीको थप उपचार यही फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ ।

उहाँलाई  प्रेसर  माक्स अक्सिजनबाट ८ लिटर अक्सिजन दिइएकोमा आज बिहान ७:०० बजेबाट सो घटाई ६ लिटरमा झारिएको कँडेलले बताउनुभयो । एण्टिवायोटिकले राम्रो काम गरेको, इन्फेक्सन न्यून भएको र ज्वरो नआएको कारण डराउनुपर्ने अवस्था नरहेको भण्डारीको उपचारमा संलग्न डा. मुकेश मिश्राले जानकारी दिएको कँडेलको भनाइ छ । कँडेलका अनुसार भण्डारीका पारामिटरहरु पनि सामान्य रहेका छन् ।  

चिकित्सकका अनुसार भण्डारीलाई अब भने इन्फेक्सनबाट बचाउने मात्र हो । भेटघाट गर्न चाहनेहरूका तीन हप्ता (तेस्रो व्याण्डेज) पश्चातमात्रमा गर्न चिकित्सकको सुझाव छ । यही फागुन ३ गते राति आफ्नो निवासमा ग्यास सिलिन्डरको विस्फोट हुँदा सांसद भण्डारीसहित उहाँकी आमा हरिकला भण्डारी घाइते हुनुभएको थियो। घटनालगत्तै उहाँहरू दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो ।

आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो । नेता डा.भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि गत बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो। नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५:३० प्रतिशत जलन भएको थियो।