• १३ साउन २०८१, आइतबार

एकीकृत समाजवादीको बागमती प्रदेश कमिटीको प्रशिक्षण

blog

काठमाडौँ, फागुन  १०  गते । नेकपा (एकीकृत समाजवादी) को बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रम मङ्गलबारदेखि सुरु भएको छ । यही फागुन ११ गतेसम्म सञ्चालन हुने सो प्रशिक्षणमा १३ जिल्लाबाट ५० नेता सहभागी हुनुहुन्छ ।

पार्टी उपाध्यक्ष तथा बागमती प्रदेश कमिटीका इन्चार्ज केदार न्यौपानेले कार्यक्रमको उद्घाटन गर्दै वर्तमान राजनीतिक परिस्थिति र आगामी कार्यभारको विषयमा प्रशिक्षण दिनुभयो । उहाँले कम्युनिष्ट पार्टीको घोषणापत्र जारी भएको एक सय ७५ वर्ष पूरा भएको अवसरमा त्यसको संक्षेपीकरण गर्नुभएको थियो ।

महासचिव डा बेदुराम भुसालले समाजमा समानता र न्याय स्थापनामा गरी देश विकास तथा आर्थिक रूपान्तरणमा मार्क्सवादी दर्शनको वैज्ञानिकताबारे जानकारी दिनुभयो । पार्टी स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश अध्यक्ष सावित्री भुसालले विभिन्न कालखण्डमा विकास भएका वर्ग, ती वर्गबीच भएका सङ्घर्ष र सामाजिक सवालबारे चर्चा गर्नुभएको थियो ।

प्रशिक्षणको अवधिमा पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपाध्यक्षद्वय राजेन्द्रप्रसाद पाण्डे र प्रमेश हमाल, पार्टी केन्द्रीय सचिवालय सदस्य घनश्याम भुसाललगायतले पार्टी पुनः गठनको औचित्य, नेपालको कम्युनिष्ट आन्दोलन विगत र वर्तमान, पार्टीको मार्गदर्शन सिद्धान्त र क्रान्तिको अबको बाटो, पार्टीको मार्गदर्शक सिद्धान्त तथा साङ्गठनिक सिद्धान्त, बागमती प्रदेशको साङ्गठनिक अवस्था र सङ्गठन निर्माणको आगामी कार्ययोजना, समाजवादी आन्दोलन र आजको विश्व व्यवस्था, पार्टी स्कुलबारे प्रशिक्षण दिने बताइएको छ ।

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रशिक्षणको समापन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग सदस्य कृतु भण्डारीले जानकारी दिनुभयो । पार्टीले यसअघि प्रदेश नं १ र सुदूरपश्चिममा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ । रासस