• १२ मंसिर २०८१, बुधबार

राष्ट्रपति भण्डारी जलजलाको बराह ताल आउनुहुने

blog

पर्वतको जलजला गाउँपालिका-२ पूर्ण गाउँस्थित बराह ताल र यहाँ निर्माण गरिएको कुल मन्दिर । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, फागुन १० गते । राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधबार) पर्वतको जलजला गाउँपालिका स्थित धार्मिक पर्यटकीय बराह तालमा आउने हुनुभएको छ । बराह तालमा निर्माण गरिएको कुल मन्दिरको समुद्घाटन तथा धार्मिक एवम् पौराणिक महत्त्वको क्षेत्र हम्पाल कालञ्जरको अवलोकन गर्न राष्ट्रपति भण्डारी आउन लाग्नुभएको हो । 

बिहान ११ बजे राष्ट्रपति भण्डारी हेलिकप्टरबाट जलजला गाउँपालिका -२ पूर्ण गाउँस्थित बराह तालमा आउने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यले बताउनुभयो । राष्ट्रपतिको भ्रमणलाई लिएर  जिल्ला स्थित सुरक्षा अधिकारी,राष्ट्रपति कार्यालयबाट खटिएको कर्मचारी सहितको सुरक्षा टोली,जनप्रतिनिधि र स्थानीयवासी सहितको समन्वय बैठक गरी व्यवस्थापकीय र सुरक्षालाई प्रभावकारी बनाइएको अध्यक्ष आचार्यले बताउनुभयो ।  

राष्ट्रपति भण्डारीले बुधबार  जलजलाको धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल कालाञ्जर हम्पाल क्षेत्र अवलोकन र वडा नम्बर २ पूर्ण गाउँस्थित आदि बराह तालमा निर्मित कुल मन्दिरको उद्घाटन गर्नुहुने कार्यक्रम तय गरिएको छ । साथै राष्ट्रपतिबाट  समुन्द्र सतहदेखि तीन हजार मिटर उचाइमा रहेको पौराणिक–धार्मिक रूपले महत्त्वपूर्ण पर्यटकीय स्थल कालञ्जर हम्पाल (जलजला) क्षेत्र को हेलिकप्टरबाट अवलोकन गर्ने कार्यक्रम रहेको पालिका अध्यक्ष आचार्यले बताउनुभयो ।

पर्यटकीय सम्भावनायुक्त क्षेत्र  बराह ताल र हम्पाल कालञ्जर क्षेत्रको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा ठुलो टेवा पुग्नुका साथै देश तथा विदेशमा परिचित गराउने र आगामी दिनमा महत्त्व बढेर जाने अपेक्षा गरिएको पालिका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो । 

बराह तालको बिच भागमा अवस्थित बयसको रूख त्यहाँको अर्को आकर्षण हो । सोही रूखको फेदीमा रहेको जल बराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ । ताल परिसरमा घर्ती क्षेत्री र कार्की थरका क्षेत्री समुदायको कुल मन्दिर छन् । मन्दिर पुन निर्माणको मुख्य दाता रवीन्द्र जङ्ग लामिछानेले २५ लाख रुपियाँ सहयोग प्रदान गर्नुभएको छ । मन्दिर निर्माण गर्न करिब डेढ करोड रुपियाँ खर्च भएको जनाइएको छ । 

समुद्री सतहदेखि एक हजार नौ सय ५० मिटरको उचाइमा रहेको बराह ताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ । करिब तीन मिटर गहिरो तालको पृष्ठभूमिमा धौलागिरि र निलगिरी हिमाल रहेका छन् । बस्तीदेखि टाढा एकान्त वातावरणमा रहेको बराह ताल प्राकृतिक रूपमा सुन्दर छ ।  यहाँबाट पर्वत, म्याग्दी र बागलुङको विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ ।

जनै पूर्णिमामा लाग्ने विशेष मेलामा पर्वत सहित, म्याग्दी, बागलुङ, पोखरा, चितवन, काठमाडौँ लगायतका ठाउँबाट पनि श्रद्धालु भक्तजन आउने स्थानीय युवा नवीन जिसीले बताउनुभयो ।  मागेको बर पूरा हुने विश्वास गर्ने गरिएको बराह क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना अगाडि बढाइएको  जलजला २ का वडाध्यक्ष प्रकाश जिसीले बताउनुभयो । राष्ट्रपतिको आगमनले यस क्षेत्रको महत्त्व बढेर जाने विश्वास गरिएको उहाँले बताउनुभयो ।