• ९ पुस २०८१, मङ्गलबार

स्कटल्याण्डसँग जितका लागि नेपाललाई २७५ रनको चुनौती

blog

फाइल तस्बिरकीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत सुरु भएको खेल । तस्बिर : विकास द्वारे

काठमाडौं, फागुन ५ गते । आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आज (शुक्रबार) भएको खेलमा स्कटल्याण्डले नेपाललाई जितका लागि दुई सय ७५ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ७४ रनको योगफल बनायो ।

स्कटल्याण्डका लागि माइकल लिस्कले सर्वाधिक एक सय सात रनको योगदान दिए । उनले ८५ बल खेल्दै नौ छक्का र तीन चौकाको मद्दतमा अविजित एक सय सात रनको योगदान दिएका हुन् ।

त्यस्तै, ज्याक जार्विसले २६ रनको योगदान दिए भने क्रिसटोफर म्याकब्राइडले २२ रन जोडे । यसैगरी मार्क वाटले २० रन जोड्दा कप्तान रिचार्ड बेरिङटन र टम म्याकिन्टसले समान १९/१९ रन जोडे । क्रिश ग्रेप्सले १६ रन बनाउँदा म्याथ्यू क्रसले दुई रन मात्र बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए भने कुशल मल्लले दुई विकेट लिए । त्यस्तै सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान एक÷एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।