• १५ वैशाख २०८१, शनिबार

‘सरकारी शैक्षिक प्रतिष्ठानको गुणस्तर वृद्धि गर्नुपर्छ’

blog

हरिप्रसाद कोइराला

उर्लाबारी, माघ १५ गते । प्रदेश १ का सभामुख बाबुराम गौतमले ग्रामीण क्षेत्रका सरकारी शैक्षिक प्रतिष्ठानको गुणस्तर वृद्धि गर्न राज्यले ध्यान दिनुपर्ने बताउनुभएको छ । आइतबार मोरङको कानेपोखरी –५ स्थित रमाइलो बहुमुखी क्याम्पसको ३१ औँ वार्षिकोत्सव एवम् ७ औँ परिषद् भेलाको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

सभामुख गौतमले शिक्षा र स्वास्थ्यको आधारभूत सेवा निःशुल्क भए पनि अझै अति विपन्नको पहुँचमा नपुगेको बताउँदै अति विपन्नको उच्च शिक्षा प्राप्त गर्ने इच्छा पूरा गर्न ग्रामीण भेगका शैक्षिक संस्थाहरू पूर्णरुपमा सबल र सक्षम हुनुपर्छ भन्नुभयो । 

सभामुख गौतमले रमाइलो बहुमुखी क्याम्पसको पूर्वाधार एवम् शैक्षिक गुणस्तर वृद्धिमा सक्दो सहयोग गर्ने बताउनुभयो । रमाइलो बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश १ का प्रदेश सभा सदस्य गीता तिम्सिना, गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारी, गाउँपालिकाका पूर्वअध्यक्ष ताराबहादुर काफ्लेलगायतले बोल्नुभएको थियो । 

सोही अवसरमा क्याम्पस स्थापनाकालदेखि हालसम्म २ हजारमाथि चन्दा दिने चन्दादातालाई सम्मान गरिएको थियो । परिषद् भेला आइतबार नै नयाँ सञ्चालक समितिको चयन गर्ने भएको छ ।