• ७ वैशाख २०८१, शुक्रबार

फरक क्षमताका नागरिकको जीविकोपार्जन (फोटो फिचर)

blog

काठमाडौँ, माघ १४ गते । फरक क्षमताका भएका नागरिक भएर पनि आफैँ कमाएर जीविकोपार्जन गर्दै आउनुभएका व्यक्तिहरूको कथालाई आजको फोटो फिचरमा समेटेको छ ।

खुट्टा नभएको मानिसले पनि सगरमाथाको सफल आरोहण गर्‍यो भन्दा अचम्म मान्नुपर्दैन, न त पूरै शरीर नचल्ने व्यक्ति युगमै उत्कृष्ट वैज्ञानिक बने भन्दा अचम्म मान्नुपर्छ । आँखा नदेख्ने व्यक्तिले पुस्तक लेखे भन्दा अझै पनि हामी कसरी सम्भव भयो भन्ने आश्चर्यलाग्दो प्रश्न गर्छौँ ।

शारीरिक अशक्तता भएका व्यक्ति देख्नासाथ विचारा भन्ने हामी अझै उहाँहरूको संवेदनामा नै सीमित छौँ । तर आश्चर्य मान्नुपर्दैन, खुट्टा नहुने मानिसले सगरमाथा चढिसकेका छन् । आँखा नदेख्ने व्यक्तिले पुस्तक लेखिसकेका छन् र पूरा शरीर नचल्ने व्यक्ति युगकै उत्कृष्ट वैज्ञानिक बनेका छन् ।

कोहीँ जन्मिँदै शारीरिक रूपमा अशक्त थिए, कोही दुर्घटनामा परेर अशक्त हुनुभयो । तर, शारीरिक अशक्तताले उनीहरूको सपनामा अङ्कुश लगाउन सकेन नै उहाँहरूले आफ्नो कमजोरीलाई जीवनमा हाबी हुन दिएर बिलौनामा समय व्यतीत गरेनन् । बरु, आफ्नो ‘समस्या’लाई ‘शक्ति’ मा परिणत गरे र, सबैका निमित्त उदाहरण बन्नुभयो ।


विश्व प्रसिद्ध भौतिक शास्त्री, लेखक, प्रोफेसर स्टिफन हकिङले विशेष गरेर भौतिक शास्त्र र ब्रह्माण्ड विज्ञान सम्बन्धी विभिन्न सिद्धान्तहरू प्रतिपादन गरे । त्यस्तै हेलेन केलर डिग्री प्राप्त गर्ने विश्वकै प्रथम देख्न र सुन्न नसक्ने व्यक्ति हुन् भने फ्रान्कलिन अमेरिकी वकिलका साथै ३२ औँ अमेरिकी राष्ट्रपति हुन् ।

उहाँ शारीरिक अशक्तता भएका व्यक्ति हुन् । त्यस्तै भारतीय नागरिक अरुणिमा सिन्हा सगरमाथा आरोहण गर्ने पहिलो अशक्त व्यक्ति हुन् भने भारतीय नागरिक सुधा चन्द्रन पनि अशक्त भएर पनि भारत नाट्यम डान्सर बन्न सफल भइन् । त्यसो त नेपालमा भएकै कुरा गर्ने हो भने झमककुमारी घिमिरेको नाम लिए पुग्छ ।

यस्ता धेरै उदाहरण छन्, जसले अशक्ततालाई अवसरमा परिणत गरेर देश-विदेशमा बलियो रूपमा आफूलाई उभ्याएका छन् । नेपालमा अहिले पनि अशक्तपनलाई कमजोरी नठानी आत्मबलका साथ आफैँ काम गरेर जीविकोपार्जन गर्ने मानिसहरू धेरै छन् ।

जोरपाटीस्थित बिआईए इन्स्टिच्युटमा थाङ्का बनाउँदै गरेका अपाङ्गता भएका कलाकार हुन् वा जोरपाटीस्थित अपाङ्ग सङ्घ परिसरमा दृष्टिविहीन र अपाङ्गता भएका पुरुष ।

गौशालामा व्यापार गर्दै आउनुभएकी अपाङ्गता भएकी महिलाको शक्ति हेरौँ वा गौशालास्थित शान्ति सेवा गृहमा कागजको झोला बनाउँदै गरेका कुष्ठरोग पीडित पुरुषको अनुहार हेरौँ । उहाँहरू आफ्नो शारीरिक रूपलाई छोडेर मानसिक रूपमा बलियो बनी आफैँ कमाएर जीवन धान्छन् ।


थापाथलीस्थित सुकुम्वासी बस्तीमा दृष्टिविहीन परमेश्वरीदेवी मुखियाको घरमा  काम गरेर जीविकोपार्जनगर्छिन् भने उहाँका श्रीमान् सल्टु मुखिया पनि दृष्टिविहीन नै छन् ।

आवाजको सहारामा मोबाइल चलाउने, अपाङ्गता भएकाहरू, ह्वीलचेयरको सहयोगमा बास्केटबल खेल्नेहरू, चिउँडोको सहायताले ह्वीलचेयर चलाउनेहरू, हेलमेटमा राखिएको स्टिक र सेन्सरले इन्टरनेट चलाउनेहरू, ह्वेलचेयर बनाउने, कपडाको थाङ्का बुन्ने लगायतका काममा उहाँहरू व्यस्त छन् ।

न्युज एजेन्सी नेपालकाे सहयाेगमा