• ११ मंसिर २०८१, मङ्गलबार

सुक्खा पहिरोको जोखिममा पारतोला बस्ती

blog

बाजुरा समाचारदाता

बाजुरा, पुस २७ गते । बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ को पारतोला बस्ती सुक्खा पहिरोको जोखिममा रहेको छ । हिउँदको महिनामा बस्तीको माथिबाट सुख्खा पहिरो जान थालेपछि अहिले त्यो बस्ती पहिरोको जोखिममा रहेको हो ।

खप्तड छेडेदह गाउँपालिका–५ का स्थानीय जमुना रावतले, गत बर्खामा गाउँमाथिबाट आएको पहिरो हिउँदमा पनि खस्न थालेपछि पारतोला बस्ती जोखिममा रहेको बताउनुभयो ।

पारतोला बस्तीका स्थानीयलाई हिउँदमै पहिरोले पुर्छ कि भन्ने चिन्ता छ, बस्ती जोगाउनका लागि स्थानीय सरकारलाई माग गर्दै आए पनि अहिलेसम्म केही सुनुवाइ नभएको रावतले बताउनुभयो । खप्तड छेडेदहको–५ को पारतोला, डोगडीलगायतका अन्य दर्जनौँ बस्ती पनि बाढीपहिरोको उच्च जोखिममा छन् ।

वर्खा बाढीले वारिपारि काट्दै जाने  र हिउँदमा गाउँमाथिबाट पनि पहिरो आउन थालेपछि  हिउँद बर्खामै ती बस्ती पहिरोको जोखिम रहँदै आएका हुन् । हिउँदमा पहिरो नलाग्ला भन्ने सोचमा गाउँ फर्केका सो बस्तीका स्थानीयहरू सुक्खा पहिरोले पनि त्रसित बन्दै गएका छन् ।

खप्तड छेडेदह गाउँपालिका–५ का वडा अध्यक्ष जित रावतले गत साउनदेखि भदौसम्म लगातार परेको झरीका कारण सुरु भएको त्यो पहिरो पुसको महिनामा पनि बग्न थालेपछि पारतोला बस्तीका झन्डै पचासभन्दा बढी घरपरिवार पहिरोको जोखिममा रहेको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “केही वर्ष पहिला त्यो ठाउँमा पहिरो रोक्न घाँस तथा बीच बीचमा ग्याबिन राखेका थियौँ । माथिबाट आएको पहिरोले त्यो सबै बगायो । तटबन्धन गरेर पनि पहिरो नरोकिएपछि अहिले त्यो बस्तीलाई तुरुन्त अन्य ठाउँमा स्थान्तरण गर्नुबाहेक अन्य केही विकल्प देखिन्न ।”

खप्तड छेडेदह गाउँपालिकाको स्वास्थ्य संयोजक नरबहादुर रावतले बस्तीसँगै रहेको डोगडी स्वास्थ्यचौकीसमेत सुक्खा पहिरोको उच्च जोखिममा रहेको बताउनुभयो । 

उहाँले चिसोका कारण अहिले यहाँका अधिकांश गाउँमा रुघाखोकीका बिरामी बढ्दै गएका छन् । पहिरोको डरैडरमा स्वास्थ्य संस्थामा आएका ती बिरामीलाई स्वास्थ्यकर्मीहरू उपचार गर्न बाध्य छन् । गत बर्खाको समयमा त्यस स्वास्थ्य चौकीको दुई कोठा पहिरोले पुरिँदा लाखौ रुपियाँको स्वास्थ्य सामग्रीसहित औषधि पुरिएको थियो ।

हिउँदमा गएको सुक्खा पहिरोले खासै समस्या नभए पनि बर्खाको समयमा भने त्यसले डोगडी स्वास्थ्यचौकीलाई निकै क्षति गर्ने गरेको संयोजक रावतले बताउनुभयो ।

त्यसको पूर्वतयारीका लागि स्थानीय तहको विपत् व्यवस्थापन समितिलाई र त्यहाँका स्थानीयवासीलाई सजग रहन आग्रह गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

त्यो बस्तीलाई अन्य सुरक्षित ठाउँमा स्थानान्तरणका लागि गृह मन्त्रालयलाई समेत जानकारी गराइसकेको जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताउनुभयो ।