बाबुराम शर्मा
दोलखा, पुस २२ गते । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाले खानामा नियमित अन्डा र मासु सम्मिलित गरी सेवन गरेमा स्वास्थ्यलाई फाइदा पुग्ने सचेतनासहित विपन्न महिला र बालबालिकालाई अन्डा वितरण गरिएको छ । केन्द्रले कुखुराको मासु र अन्डा सेवनको महत्व बुझाउँदै सात हजार दुई सय वटा अन्डा वितरण गरेको केन्द्रका पशु विकास अधिकृत डा. ध्रुव डिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बालबालिका, गर्भवती तथा सुत्केरी महिला, हिंसा प्रभावित महिला र श्रमिकलाई अन्डा वितरण गरिएको हो । हनुमन्तेश्वर माध्यमिक विद्यालयका ७७० विद्यार्थी र ४९ शिक्षकलाई दुई हजार चार सय वटा, गौरीशङ्कर बालगृहमा १० क्रेट आवाज नेपालमा १० क्रेट, पशुपति चौलागाईँ स्मृति अस्पतालमा सुत्केरी र गर्भवती महिलाका लागि ६४ क्रेट, हाइड्रोपावरमा १४० जना श्रमिकका लागि चार हजार दुई सय अन्डा वितरण गरिएको हो ।
केन्द्रका कार्यालय प्रमुख पलट चौधरीले भन्नुभयो, अन्डा र मासु एक दिनमात्र होइन, नियमित सेवन गरेमा व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै स्वास्थ्य स्वस्थ रहन सकिन्छ । यो सचेतना र अन्डा वितरणले अन्डा र मासुको उपभोग बढाउने अपेक्षा गरिएको छ । सस्तो र सर्वसुलभ मूल्यमा पाइने अन्डा र मासुको सेवन मानव जीवनका लागि अपरिहार्य भएको छ ।