• ११ मंसिर २०८१, मङ्गलबार

मिल स्थापनापछि ढटेँलो खोज्न हिँडे गाउँले

blog

मुगु समाचारदाता

मुगु, पुस २२ गते । ढटेँलो, आरु, चुली र सूर्यमुखीजस्ता रैथाने तेलहन बाली प्रशोधन हुन नसकिरहेको बेला जिल्लामा तेल प्रशोधन मिल सञ्चालनमा ल्याइएको छ।

छायाँनाथ रारा नगरपालिका–१२, शोभागाउँमा हातेमालो सामुदायिक विकास कृषि तथा जडीबुटी  सहकारी लिमिटेडले सो मिल सञ्चालनमा ल्याएको हो। सो सहकारीमा ४३१ जना सेयर रहेका छन्। गुड नेबर्स इन्टरनेसनल नेपालको अनुदान सहयोगमा सो मिल सञ्चालनमा आएको हो।

सहकारी संस्थाका अध्यक्ष सुरजित बुढाका अनुसार स्थानीय क्षेत्रमा उत्पादन हुने ढटेँलो, आरु, चुली र सूर्यमुखीको फललाई प्रशोधन गरी तेल उत्पादन गर्ने उद्देश्यले तोरी पेल्ने मिल सञ्चालनमा ल्याइएको हो। सो मिल सञ्चालनका लागि  पाँच लाख रुपियाँ खर्च लागेको जनाइएको छ।

सहकारी संस्थाकी सदस्य खुम्मेनी बुढाका अनुसार यसअघि गाउँमा आधुनिक प्रविधिका मिल सञ्चालनमा थिएनन्। मिल सञ्चालनपछि आरु, चुली, ढटेँलो, सूर्यमुखीका फलबाट गाउँमा नै तेल उत्पादन गर्न सकिने बुढाले बताउनुभयो।

उहाँले भन्नुभयो, “गाउँघरमै तोरी पेल्ने मिल आएपछि अब बजारको तेलमा निर्भर हुने अवस्था अन्त्य हुन्छ कि भन्ने लागेको छ।”अर्का सदस्य जयबहादुर बुढाले गाउँमा तेलहनको रैथाने बाली प्रशस्त भएको र दुई दशकअघिसम्म स्थानीय प्रविधिको प्रयोग गरेर तोरी पेल्ने गरेको स्मरण गर्नुभयो। उहाँले भन्नुभयो, “यी बालीको तेलले आयुर्वेद औषधिको पनि काम गर्छ। उत्पादन बढाएर बाहिर बिक्री गर्न सके यसले राम्रो अर्थ आर्जन गर्न सकिन्छ।”

तेल  प्रशोधन मेसिन गाउँमा आएपछि सहकारीका सदस्यहरू ढटेँलो सङ्कलनमा लागेका छन्। ढटेँलो जङ्गल तथा स्थानीय स्तरका खेतबारीका आसपासमा सहजै रूपमा पाइन्छ। यसको संरक्षणमा बाँझो जग्गामा र जङ्गलमा खेती गरी उत्पादन गर्न सक्ने हो भने यसको तेलको मूल्य प्रतिलिटर एक हजार पाँच सय रुपियाँसम्ममा बजारमा बिक्री गर्न सकिने छ।