बाँके समाचारदाता
बाँके, पुस २२ गते । केही दिनयता चिसो बढेपछि बाँकेको नेपालगञ्ज लगायतका विभिन्नस्थानको जनजीवन प्रभावित भएको छ। चिसोबाट आम नागरिकलाई राहत पु-याउन नेपालगञ्ज उपमहानगरपालिकाले नगरभित्र दाउरा वितरण गर्न सुरु गरेको छ। केही दिनयता चिसो अत्याधिक बढेपछि आगो ताप्न सहज होस् भन्ने उद्देश्यले नगरका विभिन्न स्थानमा दाउरा वितरण गर्न सुरु गरिएको वडा नं. १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता प्रमोद रिजालले बताउनुभयो। “सर्वसाधारण र सेवाग्राहीहरूको भीडभाड बढी हुने स्थान र कार्यालयमा पहिलो चरणमा दाउरा वितरण गरिएको छ,” प्रवक्ता रिजालले भन्नुभयो– “हरेक वर्ष चिसोमा नगरभित्र दाउरा वितरण हुँदै आएको छ।”
बुधबारदेखि नगरभित्र पहिलो चरणमा दाउरा वितरण सुरु भएको हो। पहिलो चरणमा विभिन्न २३ स्थानमा सर्वसाधारणलाई न्यानो बनाउनका लागि दाउरा वितरण गरिएको नगर प्रहरी प्रमुख सूर्य बोगटीले जानकारी दिनुभयो।