सिराज खान
नेपालगञ्ज, पुस २२ गते । नेपालगञ्जमा दादुराका कारण एक बालकको ज्यान गएको छ। करिब २७ भन्दा बढी बालबालिकामा दादुरा रोग सङ्क्रमण पुष्टि भएको छ। नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले दादुराका कारण सलामत शेषका साढे दुई वर्षका छोराको मृत्यु भएको बताउनुभयो।
विभिन्न वडामा १५ वर्षमुनिका २७ जना बालबालिकामा दादुरा सङ्क्रमण पुष्टि भएको जानकारी दिँदै उहाँले सङ्क्रमितमध्ये अधिकांशले दादुराको खोप नलगाएको पाइएको बताउनुभयो। स्वास्थ्य शाखाका अनुसार वडा नम्बर ५, ७, ८, १०, १५ र २२ नम्बरमा दादुराका बिरामी बढी देखा परेका छन्। सुरुमा नेपालगञ्ज–७ मा एकै परिवारका पाँच बालबालिकालाई ज्वरो आएसँगै शरीरमा बिमिरा देखिएपछि परीक्षण गराउँदा दादुरा पुष्टि भएको थियो। त्यसपछि ज्वरो आएर र बिमिरा निस्किएका धेरै बालबालिका अस्पताल र चिकित्सकहरूको क्लिनिकमा आउने गरेका छन्।
नेपालगञ्जका वरिष्ठ बाल रोग विशेषज्ञ डा. सकिल अहमदले दादुरा सङ्क्रमित बालबालिका अभिभावकलाई स्वास्थ्य सचेतना दिने र उपचार गर्ने काम भइरहेको बताउनुभयो। सन् २०२३ मा दादुरा उन्मूलनको घोषणा गर्ने तयारी रहेकै बेला नेपालगञ्जमा एकाएक दादुरा सङ्क्रमण तीव्र रूपमा देखिएको छ। नेपालगञ्ज उपमहानगरका विभिन्न वडाहरूमा दादुराको सङ्क्रमण देखिएकोले बिरामीको खोजी र सचेतना अभियान चलाइएको नेपालगञ्ज उपमहानगरले जनाएको छ। उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख चन्दले बाल रोग विशेषज्ञहरू डा. रोमा बोहरा र विष्णु थापासहितको टोलीलाई बढी प्रभावित देखिएको वडाहरू ५ र ७ मा पठाई बालबालिकाको स्वास्थ्य परीक्षण गराइएको बताउनुभयो। स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई टोलटोलमा खटाएर बिरामी पत्ता लगाउने, जनचेतना फैलाउने, बिरामीलाई अस्पताल लैजाने आग्रह गर्ने, दादुरा तुरुन्तै सर्ने भएकाले छुट्टै ठाउँमा राख्न आग्रह गर्ने र अभिलेख लिने कार्य गरिरहेका जनाइएको छ।
दादुराको खोप अनिवार्य
नेपालगञ्ज उपमहानगरमा दादुरा महामारी फैलिएपछि सो रोगको नियन्त्रणका लागि तत्काल खोप अभियान सुरु गरिने भएको छ। दादुरा पुष्टि भएका अधिकांश बालबालिकाले खोप नलगाएको देखिएपछि शुक्रबारदेखि नै उपमहानगरपालिकाभित्रका नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुराको खोप लगाउन सुरु गरिने तयारी गरिएको स्वास्थ्य शाखाले जनाएको छ। स्वास्थ्य शाखाका प्रमुख चन्दले आफ्ना बालबालिकालाई खोप लगाई सहयोग गरिदिन अभिभावकलाई आग्रह गर्नुभएको छ।