बनेपा समाचारदाता
बनेपा, पुस २२ गते । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–६, रातमाटे बस्तीनजिक उद्योग नखोल्न स्थानीयले माग राखेका छन् । सो स्थानमा पशुपन्छीजन्य औषधि उत्पादन गर्ने उद्योग स्थापना गर्ने विषयमा विवाद उत्पन्न भएको छ ।
बिग बी फर्मुलेसन प्रालिले पशुपन्छीजन्य औषधि उत्पादन उद्योग स्थापनाका लागि शिलान्यास गर्ने क्रममा स्थानीयवासीले विरोध जनाएका हुन् । स्थानीयको विरोधका कारण बुधबारका लागि तय गरिएको उद्योगको शिलान्यास कार्यक्रम स्थगित भएको छ । सरकारले निर्धारण गरेको मापदण्डअनुसार बस्तीभन्दा र सामुदायिक वनभन्दा पाँच सय मिटर टाढा उद्योग स्थापना गर्नुपर्ने, खोला, विद्यालय तथा स्वास्थ्य संस्थाबाट टाढा हुनुपर्ने मापदण्ड रहे पनि उद्योगले उक्त मापदण्ड पालना नगरेको स्थानीयको आरोप छ ।
स्थानीय ध्र्रुवराज आचार्यले करिब डेढ सय घरपरिवार रहेको समुदायको बीच भागमा उद्योग स्थापना गर्ने प्रक्रिया अघि बढाइएको र उद्योगले सरकारले जारी गरेका कुनै पनि मापदण्ड पालना नगरेका कारण स्थानीयले उद्योग स्थापनाप्रति विरोध जनाएको बताउनुभयो । उहाँले नागरिकलाई असर नगर्ने र सरकारले तोकेको मापदण्ड पूरा गरेर उद्योग सञ्चालन गर्नुपर्ने स्थानीयको माग रहेको बताउनुभयो । स्थानीयवासीले बस्तीको छेउमा उद्योग स्थापना गर्न नहुने भन्दै नगरपालिकामा ध्यानाकर्षण गराए पनि नगरपालिकाले उक्त विषयमा कुनै सुनुवाइ नगरेको भन्दै मङ्गलबार प्रमुख जिल्ला अधिकारीलाई विज्ञप्ति बुझाएका थिए ।
आफूहरूको गुनासो कतै सुनुवाइ नभएको र बुधबार उद्योग शिलान्यास कार्यक्रम राखिएपछि स्थानीयवासीले बुधबार बिहानैदेखि विरोध जनाउँदै शिलान्यास कार्यक्रममा अवरोध गरेका थिए ।