काठमाडौँ, पुस २२ गते । जिल्ला प्रशासन कार्यालय काठमाडौँले दैनिक सेवा प्रवाह छिटो छरितो गर्न टाइमकार्ड लागू गरेको छ । बिहीबार मध्याह्न १२ बजेदेखि नयाँ नागरिकता वितरण, नाबालक परिचयपत्र वितरण सङ्घसंस्था नवीकरण तथा मुद्दाको पेसी तोक्ने विषयमा टाइमकार्ड लागू गरेको हो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले टाइमकार्ड लागू भएपछि काठमाडौँ जिल्ला प्रशासन कार्यालयको निरीक्षण गर्नुभएको थियो । जिल्ला प्रशासन कार्यालयले १० वटा सेवामा ‘टाइम कार्ड’ लागू गर्ने घोषणा गरेको भए पनि कहिले देखि लागू गर्ने भन्नेबारे निर्णय गरिसकेको छैन ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका सूचना अधिकारी देवी पाण्डे खत्रीका अनुसार बिहीबारदेखि संस्था नवीकरण, मुद्दाको पेसी ३० मिनेट तथा नयाँ नागरिकता वितरण तथा नाबालक परिचयपत्र वितरण एक घण्टाभित्र वितरण गरिसक्ने गरी टाइमकार्ड लागू गरिएको छ । यस्तै राष्ट्रिय परिचयपत्र कार्ड वितरण ३० मिनेट, राहदानी वितरण १५ मिनेट र मुद्दाको फैसला ६० दिन भित्र गर्ने गरी समय तोकेको भए पनि लागू हुन केही समय लाग्ने भएको जनाइएको छ ।
आवश्यक काजपत्र पूरा गरी सेवा लिन गएका सेवाग्राहीले मात्र टाइमकार्ड अनुसार सेवा लिन पाउने समेत सो कार्यालयले स्पष्ट पारेको छ । सेवाग्राहीले पेस गरेका कागजपत्र पूरा भई सम्बन्धित कर्मचारीले रुजु गरेको समयपछि मात्र टाइमकार्ड लागू हुने समेत सूचना अधिकारी खत्रीले जानकारी दिनुभयो ।
यसैगरी प्रमुख जिल्ला अधिकारीले शुक्रबार बाहेक कार्यालय खुलेको समयमा दैनिक अपराह्न ३ बजेदेखि ४ बजेसम्म गुनासो सुन्ने गरी समय व्यवस्थापन गरिएको छ । उमेर ६५ वर्ष नाघेका, अशक्त, बच्चा बोकेका महिलाको हकमा लाइन बस्न नपर्ने तथा उमेर ७५ वर्ष माथिका वृद्धवृद्धालाई जिल्ला प्रशासन कार्यालयले सहयोगी नै खटाएर सेवा प्रदान गर्ने जनाएको छ ।
टाइमकार्डसँगै कार्यालयबाट दैनिक हुने सेवा प्रवाहको सङ्ख्या बढाइएको छ । यसअघि दैनिक दुई सय जनाको सङ्ख्या निर्धारण गरी राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक लिने गरिएकोमा बिहीबारदेखि बढाएर ४५० पु-याइएको छ । यस्तै राहदानीका लागि १५० जनाको बायोमेट्रिक लिने गरिएकोमा बढाएर दैनिक सङ्ख्या २५० पु¥याइएको छ ।