काठमाडौँ, पुस २२ गते । सरकारले अर्थ सचिवसहित सात जना सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, वाणिज्य, आपूर्ति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिवको सरुवा गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव तोयम रायको अर्थ मन्त्रालयमा सरुवा भएको छ । अर्थ सचिव कृष्णहरि पुष्करको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मधु मरासिनीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिवमा सरुवा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव धनराज ज्ञवालीको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा भएको छ भने कानुन मन्त्रालयका सचिव उदयराज सापकोटाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कानुन सचिवमा सरुवा भएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठका अनुसार राष्ट्रिय सभा रित्त सदस्यका लागि माघ २५ गते निर्वाचन गर्ने निर्णय भएको छ । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव डा. रामप्रसाद घिमिरेको अर्थ मन्त्रालयको राजस्व सचिवमा सरुवा भएको छ । राजस्व सचिव रामेश्वर दङ्गालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ ।