• १२ मंसिर २०८१, बुधबार

स्याङ्जामा दशककै बढी सुन्तला उत्पादन, एक अर्ब १४ करोडको बिक्री

blog

अर्जुन चौपारी गाउँपालिका १ फणीनारायण अर्यालको बगैँचामा फलेको सुन्तला । तस्बिर: अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, पुस ११ गते । सुन्तला उत्पादनमा अग्रणी जिल्ला स्याङ्जामा यस वर्ष सुन्तलाको उत्पादन अत्यधिक रूपमा वृद्धि भएको छ । यहाँ यस वर्ष एक अर्ब १४ करोड बराबरको सुन्तला उत्पादन भएको छ । यो गत वर्ष भन्दा ३८ करोड ६८ लाखको सुन्तला बढी हो ।  

गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा प्रति हेक्टर ६.१ प्रतिशतले धेरै सुन्तला उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोनका वरिष्ठ कृषि विकास अधिकृत माधवप्रसाद लम्सालले बताउनुभयो । गत वर्ष प्रतिहेक्टर १० दशमलव ३ मेट्रिक टन उत्पादन भएको थियो । यहाँ दुई हजार हेक्टरमा सुन्तला लगाइएकोमा एक हजार चार हेक्टरमा सुन्तला उत्पादन भइरहेको लम्सालले बताउनुभयो । 

गत वर्षभन्दा यस वर्ष नौ हजार १२० मेट सुन्तला उत्पादन बढी भएको हो । गत वर्ष १३ हजार ८४० मेट उत्पादन भएको थियो । यस वर्ष मनसुन राम्रो र असिना तथा औँसा किराको प्रकोप नदेखिँदा सुन्तला उत्पादन बढेको लम्सालले बताउनुभयो । ५० बर्सबाट सुन्तला उत्पादनमा लाग्नु भएका ६७ वर्षीय सुन्तला उत्पादक फणीनारायण अर्यालले आफूले जाने देखी कै सबैभन्दा बढी सुन्तला फलेको बताउनुभयो । 

८० रोपनी क्षेत्रफलमा दुई हजारभन्दा बढी बोट लगाउनुभएका अर्यालले सुन्तलाका बोटले नै धान्न कठिन हुने गरी अहिले अचाक्ली सुन्तला फलेको बताउनुभयो । अर्याल जस्तै चार हजारभन्दा बढी साना ठुला सुन्तलाका बगैँचा कृषकका यहाँ रहेको र ६÷७ वडा बाहेक जिल्लाभर सुन्तला खेती राम्रो हुने गरेको छ । उत्पादकत्व दर बढ्दा कृषकले सुन्तलाको मूल्य भने कम पाएका छन् । सुन्तलाको बजार मूल्य उच्च रहे पनि ४० देखि ६५ रुपियाँ प्रति किलोमा बगैँचाबाट कृषकले बिक्री गरेका छन् । 

यहाँ उत्पादित सुन्तला मध्ये किसानले १५ प्रतिशत आफैँ उपभोग गर्दा ८५ प्रतिशत सुन्तला बिक्री वितरण गर्ने गरेका छन् । यहाँका सुन्तला यस वर्ष काठमाडौँ, बुटवल, नारायणघाट र पोखरा बिक्री भइरहेको छ । पुतलीबजार, वालिङ, भीर कोट र गल्याङ नगरपालिकासहित फेदीखोला, बिरुवा, अर्जुनचौपारी, आँधीखोला र हरिनास गाउँपालिकाका सुन्तला उत्पादनका पकेट क्षेत्र छन् ।